दाङ भ्याली यातायातको स्थापना दिवसमा विविध कार्यक्रम

दाङ, २८ श्रावण ।
दाङ भ्याली यातायात प्रा.लि.ले आफ्नो पाँचौँ स्थापना दिवस तथा वार्षिकोत्सव विभिन्न सामाजिक कार्यक्रम गरी मनाएको छ। संस्थाले पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा बृहत् सरसफाइ तथा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरेको हो।

स्थापना दिवसको अवसरमा संस्थाले तुलसीपुरमा बसपार्कस्थित पिपलबोटदेखि पुलचोकसम्मको सडक क्षेत्र तथा बाहिनी चोकदेखि मदनआश्रित चोकसम्म सरसफाइ गरेको थियो। त्यसैगरी घोराहीमा अम्बिकेश्वरी मन्दिर क्षेत्र, ट्राफिक चोक, बीपी चोक हुँदै तुलसीपुर चोकसम्मको सडक क्षेत्र सरसफाइ गरिएको संस्थाका अध्यक्ष महेन्द्र महराले जानकारी दिनुभयो।

संस्थाले तुलसीपुर र घोराहीका विभिन्न मुख्य चोकमा डस्टबिनसमेत राखेको छ। सरसफाइ कार्यक्रममा यातायात व्यवसायी, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सामाजिक अभियन्तालगायतको सहभागिता रहेको थियो।


यसैगरी संस्थाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका यातायात व्यवसायी सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ। गत श्रावण २२ गते मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका तुलसीपुर उपमहानगरपालिका–११ निवासी २८ वर्षीय राजेन्द्र केसीको परिवारलाई संस्थाले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले तुलसीपुरस्थित मानव सेवा आश्रममा रहेका आश्रितलाई दिवा खाजा खुवाउनुका साथै २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ। त्यस्तै, घोराहीमा रहेका दुईवटा वृद्धाश्रमलाई समेत खाद्यान्न सामग्री सहयोग गरिएको संस्थाले जनाएको छ।

२०७८ सालमा स्थापना भएको दाङ भ्याली यातायात प्रा।लि।ले यसअघि पनि रक्तदान, सरसफाइ, सहयोग हस्तान्तरणलगायत विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ। संस्थाका अनुसार हाल दाङ जिल्लाभरका एक हजारभन्दा बढी तीनपाङ्ग्रे सवारीसाधन संस्थामा आबद्ध छन्।