तुलसीपुर १८ को आयोजनामा महायज्ञ सुरु

दाङ, ६ मङ्सिर ।
नागरिकको उपचारमा सहयोग गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले महायज्ञ सुरु गरेको छ । उपचारकालागि अक्षयकोष स्थापना गर्न श्रीमद्भागवत जीवन विज्ञान महायज्ञको आईतबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उद्घाटन गर्नुभएको हो ।

हेमन्तपुरमा सञ्चालित महायज्ञलाई उद्घाटन गर्दै प्रमुख खड्काले स्वेच्छाले आर्थिक सहयोग गर्न सक्ने भए पनि सामाजिक उद्देश्य पूरा गर्न महायज्ञमा सहभागिता जनाउनु सबैको दायित्व भएको बताउनुभयो । उहाँले नागरिकको हित र सामाजिक कल्याणका लागि सुरु गरिएका यस्ता अभियानलाई आगामी जनप्रतिनिधिले पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

वडा नम्बर १८ का अध्यक्ष माधव वलीले दिर्घरोगीसहित अन्य जटिल रोगका बिरामीलाई आर्थिक सहयोग पु¥याउन र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने बाध्यताको अन्त्य गर्न महायज्ञ आयोजना गरिएको बताउनुभयो । सडक कालोपत्रे गर्नुमात्रै विकास नभई नागरिकलाई सहज रूपमा शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु नै विकासको महत्वपूर्ण आधार भएको भन्दै उहाँले महायज्ञबाट संकलन हुने रकम अक्षयकोषमा जम्मा गरिने जानकारी दिनुभयो ।


महायज्ञबाट संकलित रकमलाई वडाको सिफारिस समिति र कोष परिचालन समितिले स्वीकृत गरेपछि मात्र विपन्न नागरिकको उपचारका लागि सहयोग रकम भुक्तानी गरिने व्यवस्था मिलाइएको छ ।

मंसिर १५ गतेसम्म सञ्चालन हुने महायज्ञबाट न्यूनतम एक करोड रुपैँया रकम संकलन गर्ने लक्ष्य राखिएको वडाध्यक्ष वलीले बताउनुभयो । महायज्ञमा पण्डित अमृतशरण देवाचार्य प्रमुख कथावाचकका रूपमा रहनुभएको छ ।