सरकारले खानेपानी क्षेत्रलाई प्राथमिकतामा राखेनः खेमराज वली

गैंडाकोट, ०५ मंसिर।
मुकुन्दपुर खानेपानी उपभोक्ता संस्थाको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष थिरबहादुर थनेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद माननीय राजन गौतम प्रमुख अतिथि रहनुभएको थियो।

त्यसैगरी राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली र गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइराला विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सांसद राजन गौतमले खानेपानी उपभोक्ता संस्थामा पारदर्शिता कायम गर्नुपर्ने र फजुल खर्च नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मुकुन्दपुर खानेपानी संस्थालाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

त्यसैगरी राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले सरकारले खानेपानी क्षेत्रलाई प्राथमिकतामा नराखेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। आम नागरिकले आफ्नै लगानी, श्रम र प्रयासबाट निर्माण तथा सञ्चालन गरेका खानेपानी संस्थालाई सरकारले सहयोग गर्नुको सट्टा उल्टै खारेजी र विघटनको नीति अघि सार्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ थियो।

उहाँले खानेपानी नागरिकको आधारभूत आवश्यकता र मौलिक अधिकार भएकाले उपभोक्ताले निर्माण गरेका संस्थाको संरक्षण, प्रवर्द्धन तथा संस्थागत विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।


कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले आफूहरू निर्वाचित भएर जनप्रतिनिधि बने पनि आम नागरिककै सेवक भएको बताउनुभयो। जनताको काम गर्न र नागरिकका समस्या समाधान गर्न आफूहरू जिम्मेवार रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा संस्थाका सचिव रामचन्द्र धितालले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष प्रकाश न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसैगरी कोषाध्यक्ष बबिता सुवेदीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, पारदर्शिता तथा खानेपानी सेवाको प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको थियो।

खानेपानी उपभोक्ता संस्थाको संस्थागत विकास, पारदर्शिता र दिगो सञ्चालनमा सबै पक्षको सहकार्य आवश्यक रहेको सन्देशसहित साधारणसभा सम्पन्न भएको छ।