नयाँ पुस्तालाई नाच सिकाउन‘महोत्सव’

दीपक बोहरा
दाङ, ५ मङ्सिर ।
दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ तापाका १२ वर्षीय समीर पुनले यसै वर्षदेखि मौलिक पुख्र्यौली भैलो नाच राम्ररी नाच्न सिकिसकेका छन् । सुरुका दिनमा केही कठिन भए तापनि निरन्तर अभ्यास गर्दै जाँदा अहिले उनलाई यो नाच नाच्न निकै सहज बनेको छ ।

त्यसैगरी, सोही वडाकी १३ वर्षीय जागृति पुनले पनि पुराना पुस्ताको सांस्कृतिलाई संरक्षण गर्नुपर्छ भन्ने भावनाका साथ परम्परागत भैलो नाचको शैली सिकिसकेकी छन् । “हामीले पुरानो पुस्ताको नाच संरक्षण गर्नुपर्छ”,उनले भनिन् “यदि हामीले पनि भुल्यौं भने पुर्खाहरुले जोगाएको संस्कृति हराएर जान्छ ।” उनीहरुलाई ५१ वर्षीय मादले बामदेव बिकले नाच्न सिकाए ।

उनले आफ्ना बुवा दिवंगत नारदबहादुर बिकबाट मादल बजाउने कला सिकेको र अहिले नयाँ पुस्तालाई परम्परागत भैलो नाच सिकेर संरक्षणमा लाग्न निरन्तर प्रोत्साहन गरिरहेको बताए । तर, नयाँ पुस्तालाई भैलो नाच सिकाउन निकै चुनौति रहेको उनको अनुभव छ ।“अहिलेका केटाकेटी डेगमा नाच्न रुचाउछन्, मादलमा नाच्न त्यति चासो दिदैनन्”,उनले भने “त्यसले गर्दा हामीलाई निकै चुनौति थपेको छ ।”


पुर्खाहरुले अगाडीको गुरुले भनेको सबैले मान्ने चलन हुन्थ्यो । तर, अहिलेको पुस्ताले गुरुहरुले भनेको पनि नमान्ने गरेको उनले बताए । त्यस्तै बंगलाचुली गाउँपालिका वडा नं. १ स्यूजाका ५१ बर्षीय प्रेमबहादुर दमाईले पनि युवाहरुलाई भैलो नाच सिकाउँदै आएका छन् । तीन बर्षदेखि स्थानीय १७ बर्षीय अमित दमाई र अस्मिन पुनलाई यसरी नाच्न सिकाएको उनले बताए । “भैलोको सुरुआतमा समेरो बान्ने, चार दिशा देवी बान्ने, गुरु कुरुपट्टे लगाउने गर्नुपर्छ”,उनले भने “त्यो सबै सिकाउने गरेका छौं ।” मादल बजाउन नजानेपनि नाच्न भने सिक्न थालिसकेको उनले बताए । यसरी पुराना पुस्ताले नयाँ पुस्तालाई कला, संस्कार, संस्कृति सिकाइरहका छन् ।

संरक्षणमा पालिकाको पहल
पछिल्लो समय लोप हुन थालेको भैलोलाई संरक्षण गर्न दाङको बंगलाचुली गाउँपालिकाले प्रत्येक बर्ष हरिबोधनी एकादशीको दिन‘परम्परागत भैलो महोत्सव’ सञ्चालन गर्दै आएको छ । सोही अनुसार यस बर्ष पनि शुक्रबार दाङको पर्यटकीय क्षेत्र बंगलाचुली गाउँपालिका ५ स्थित बंगलाचुली लेकमा महोत्सव सञ्चालन गरेको थियो । जसमा १७ भन्दा बढि भैलो नाचहरु प्रस्तुत गरिएको थियो ।“भैलो नाच धेरै अघि देखि पुर्खाहरुले नाच्ने गरेको इतिहास छ”, पालिका अध्यक्ष तुलसीराम पुनले भने“तर, पछिल्लो समय यो लोप हुने अबस्थामा छ, यसलाई संरक्षण गर्नकालागि हामीले प्रत्येक बर्ष यस्तो महोत्सव सञ्चालन गर्दै आएका छौं ।”

पछिल्लो समय पुरानो पुस्ताबाट नयाँ पुस्तामा यस्तो नाच हस्तान्तरण नहुँदा लोप हुने अबस्थामा रहेको भन्दै यसलाई संरक्षण गर्नकालागि यसरी महोत्सव सञ्चालन गरिएको उनको भनाई छ । भैलो नाच तिहारको बेला नाचिने नाच मात्र नभई यसमा ३० भन्दा बढि विधाहरु रहने उनको भनाई छ । यसमा महाभारतका कथादेखि माया प्रेमका कुराहरुसम्म समेटिने गरेको उनको भनाई छ ।