राम्री–कपुरकोट सडक नौ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने

दाङ, २० जेठ ।
राप्ती लोकमार्गअन्तर्गत पर्ने राम्री–कपुरकोट सडक खण्डमा सडक स्तरोन्नतीको काम सुरु हुने भएपछि उक्त सडक खण्ड आगामी नौ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय दाङले आज एक सूचना जारी गर्दै जेठ २३ गतेदेखि असार १ गतेसम्म प्रत्येक दिन दैनिक ६ घण्टा सडक बन्द हुने जनाएको छ । विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले जानकारी दिनुभएको छ ।


उहाँले सडक बन्द रहेकै अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक र यात्रुहरूलाई आग्रह गर्नुभएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बुढाले हस्ताक्षर गरेको सूचनामा मर्मत कार्य सम्पन्न नभएसम्म सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

साना सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा पैयाखोरिया–सातबास–किमुचौर–कपुरकोट सडक प्रयोग गर्न सकिने जनाइएको छ ।