
१० भदौमा ल्हेन्दे नदी थुनिएर आएको भीषण बाढीले भोटेकोशी र त्रिशूली करिडोरमा पु¥याएको अभूतपूर्व क्षति केवल प्राकृतिक प्रकोप मात्र होइन, यो मानव सिर्जित असावधानी र कमजोर पूर्वतयारीको घातक परिणति पनि हो। तिब्बततर्फ खसेको हिमपहिरोले ल्हेन्दे नदी अवरुद्ध भई बनेको अस्थायी ताल अचानक फुट्दा तल्लो तटीय क्षेत्रका सयौँ मानिसले ज्यान गुमाए भने व्यापार पूर्वाधार, पुल र जलविद्युत् आयोजनाहरू ध्वस्त भए।
यो घटनाले हिमाली क्षेत्रको भौगोलिक संवेदनशीलता र जलवायु परिवर्तनको तीव्र असरलाई पुनः उजागर गरेको छ। विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमनदीहरू द्रुत गतिमा पग्लिरहेका छन्, जसले ‘सुपर–ग्लेसियल’ ताल निर्माण र विस्फोटको जोखिम बढाएको छ। तर, यस प्रकोपलाई विनाशकारी बनाउन हाम्रा आफ्नै नीतिगत र संरचनात्मक त्रुटिहरू मुख्य रूपमा जिम्मेवार छन्। भौगर्भिक अध्ययनविना भिरालो जमिनमा डोजर चलाएर सडक खन्नु, नदीको प्राकृतिक बहाव थुनेर बस्ती बसाउनु र जलविद्युत् आयोजना निर्माण गर्नुले विपद्को तीव्रतालाई थप बढाएको छ। रुख कटान र अनियोजित भू–उपयोगले माटोको पकड कमजोर बनाउँदा सानो वर्षा वा पहिरोले पनि ठूलो रूप लिने गरेको छ ।
अर्कोतर्फ, सीमापार पूर्वचेतावनी प्रणालीको अभाव झनै घातक साबित भयो। तिब्बतका दुर्गम हिमाली भूभागमा नदी थुनिएको वा ताल बनेको वास्तविक समयको सूचना नेपालका तल्लो तटीय क्षेत्रमा समयमै पुग्न नसक्दा सर्वसाधारणले सुरक्षित स्थानमा सर्ने मौका नै पाएनन्। प्रकृतिको अगाडि मानव प्रविधि र विकास कति असहाय छ भन्ने कुरा यस घटनाले स्पष्ट पारेको छ। भविष्यमा यस्ता क्षतिको पुनरावृत्ति रोक्न नेपालले चीनसँग उपग्रह इमेजरी र वास्तविक समयको सूचना आदानप्रदानका लागि बलियो ‘सीमापार पूर्वचेतावनी संयन्त्र’ निर्माण गर्नुपर्छ। साथै, नदी किनारमा अनियोजित भौतिक संरचना निर्माण रोक्दै वातावरणीय अध्ययनका आधारमा मात्र विकास निर्माणका कार्य अघि बढाउनु अपरिहार्य भइसकेको छ।



लाइभदाङ । २० भाद्र २०८३, शनिबार ०७:२७ बजे