नयाँ सन्दर्भमा प्रचण्डको नेतृत्व

किशोर नेपाल
पछिल्लो निर्वाचनको परिणामले संसद्मा सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमाले यति बेला निकै ठूलो छटपटीमा देखिएका छन् । यी दुवै पार्टीको अवस्था पुच्छरमा गोली लागेको जनावरको जस्तो भएको छ ।

यिनका सबै अंग–प्रत्यंग र शारीरिक र मानसिक अवयव शिथिल देखिएका छन् । कांग्रेस सरकारमा छ । सत्ता देखेर र्‍याल चुहाउँदै सिंहदरबारको ढोका कति बेला खुला भनेर ढुकेर बसेको छ एमाले । उता, कांग्रेसकै समर्थनको बलमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व गरेका छन् । उनलाई आफ्नो गन्तव्य थाहा छ । आफ्ना अप्ठेराहरूको पनि ज्ञान छ । बेलाबेला जानीजानी भड्किने बानीले उनलाई अप्ठेरोमा पार्न सकेको छैन ।

साँच्चै हो, प्रचण्ड कुदरती छन् । राजनीतिमा आँट र सामर्थ्य, सीप र कालिगडी, प्रकृति र प्रेमलाई खेलाउन सक्ने विलक्षणता छ उनीमा । यी गुणहरूका कारण उनी चलायमान भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूले ठूलो गल्ती गरेको विस्मात र पश्चात्ताप गर्छन्, गिरिजाप्रसाद कोइराला विश्वविद्यालयको समारोहमा । उनी यो गल्ती कबुल गर्छन् । गिरिजाप्रसाद कोइरालाबाहेक अरू पनि थुप्रै व्यक्तित्व छन् । अर्थात्, कांग्रेसका लागि अतीतमा गरेको राजनीतिक योगदानको ‘मान’ खाने साइडलाइन थुप्रै छन् । तर, व्यावहारिक राजनीतिमा यस्ता साइडलाइनको कुनै अर्थ हुँदैन ।

पहिलो जन–आन्दोलनले निर्दलीय पञ्चायत हटाएर संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको जरो गाडे पनि परिवर्तनका दुई प्रमुख पार्टी कांग्रेस र एमालेले राजनीतिक पद्धति र प्रणाली मिलाउन सकेनन् । हिजो राजाले चलाएकै फ्रेममा कांग्रेस–एमालेले लोकतन्त्र चलाउन खोजे । तर, गिरिजाप्रसाद कोइरालाले आफू जननिर्वाचित प्रधानमन्त्री भएपछि राष्ट्रिय योजना आयोगको सभागृहमा बीपी कोइरालाले भन्नुभएजस्तो ‘गरिब किसान’ को तस्बिर झुन्ड्याए । पछि थाहा भयो— फ्रेमभित्र गरिब किसानको तस्बिर थिएन । ठाउँ खाली थियो ।

राजनीतिक दलहरूको सिद्धान्तहीन र सत्तालोलुप चरित्रका कारण अस्थिर बनेको अहिलेको अवस्थामा प्रचण्डको नेतृत्व अपरिहार्य बनेको छ । क्रान्तिकारी नेताका रूपमा देशभित्र उनको क्षमता र छविको कडा आलोचना हुने गरेको भए पनि उनको अन्तर्राष्ट्रिय साख यथावत् छ । उनको सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानले अन्तर्राष्ट्रिय चर्चा पाएको छ । अन्तर्राष्ट्रिय जगत्मा इन्डो–प्यासिफिक र चीन दुवै रणनीतिलाई समान रूपले हाँक्न सक्ने ठहरिएका छन् प्रधानमन्त्री प्रचण्ड । विवाद, हिंसा र प्रतिहिंसाको दावानलमा संसार सल्किइरहेका बेला नेपालबाट केही नयाँ प्रारम्भ होस् भन्ने चाहना सबैले राखेको देखिन्छ ।

नेपालका हकमा यति बेला कांग्रेस, एमाले, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, राप्रपा र नवागन्तुक राष्ट्रिय स्वतन्त्र पार्टी सबै संसद्मा छन् । कांग्रेसको हातमा रहेको सत्ताको साँचो प्रधानमन्त्री प्रचण्डको मजबुत पकडमा छ । पछिल्लो समय नेपाली राजनीतिमा देखा परेको यो एकदमै नौलो र अनौठो अवस्था हो । यो अवस्था ल्याउनका लागि प्रथमतः कांग्रेस सभापति शेरबहादुर देउवा नै जिम्मेवार छन् । आफ्नो हातमा रहेको सत्ताको साँचो अर्को पार्टीका नेताको हातमा सुरुक्क दिनुपर्ने यो अवस्थामा कांग्रेस किन र कसरी पुग्यो ? के सभापति देउवाले कहिल्यै आत्ममन्थन गरेका छन् ?

कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालापछि मात्र कांग्रेस सभापतिमा निर्वाचित हुने अवसर पाएका देउवाले अहिलेसम्म सत्ताप्राप्तिको प्रयोजनका लागि मात्र पार्टीलाई प्रयोग गरेका छन् । आफू सभापति नरहँदा पनि देउवाले २०५२ सालमा राप्रपार्टीसँगको मिलेमतोमा कामरेड मनमोहन अधिकारी नेतृत्वको ‘अल्पमतको सरकार’ गिराएर आफ्नो नेतृत्वमा सरकार गठन गरेका थिए । अहिले उनले संसद्मा रहेका कांग्रेसका ८९ सदस्यको अख्तियारी प्रचण्डको नेतृत्वमा सरकार बनाउन दिएका छन् ।

सभापति देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको यो अख्तियारी आफ्नै मनोज्ञानले दिएका पक्कै होइनन् । त्यसो हुन्थ्यो भने चुनावपछि प्रचण्डले एमालेको समर्थनमा सरकार बनाउनुपर्ने थिएन । उनले राष्ट्रिय सहमतिको कुरा उठाउँदै आएका थिए । एमालेसँग मिलीजुली सरकार बनाएपछि पनि उनले राष्ट्रिय सहमतिको कुरा छुटाएनन् । राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमतिको नारा प्रभावकारी भयो । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए । राष्ट्रपति पदमा पौडेलको विजय देउवाका कारण होइन, प्रचण्डका कारण भएको हो । प्रचण्डले खेलेको राष्ट्रिय सहमतिको पासाले सभापति देउवा पौडेललाई राष्ट्रपति बनाउन बाध्य भए । सत्य यही हो ।


कुनै पनि राजनीतिक पार्टीको सभापति वा अध्यक्षमा निर्वाचित हुने नेताको कर्तव्य विधिसम्मत हिसाबले पार्टी सञ्चालन गर्नु हो । पार्टी सभापति वा अध्यक्षको काम पूर्णकालिक हुनुपर्छ । अधिकांश लोकतान्त्रिक देशमा नेपालको जस्तो पार्टी सभापति नै प्रधानमन्त्री हुने चलन छैन । तर, नेपालको कुरा बेग्लै छ । यो देशमा पार्टी र सरकार दुवैतिरको म्यान्डेट लिएपछि जे गर्दा पनि हुन्छ भन्ने अवधारणा स्थापित गरिएको छ । त्यसैले पार्टीको नेतृत्वमा जो हुन्छ, उही संसदीय दलको नेता हुन्छ । उसको विरुद्ध प्रतिस्पर्धामा उत्रिन चाहने अरू कसैले स्रोत र साधनको जोहो नै गर्न सक्दैन ।

यो चलन माथिदेखि तलसम्म चलेको छ । राजनीतिमा लागेको कुनै पनि व्यक्ति जतिसुकै योग्य कार्यकर्ता भए पनि उसको टाउकामा नेताहरूको ‘वरदहस्त’ परेन भने उसको उन्नतिको बाटो रहँदैन । गएको निर्वाचनका समयमा नेताहरूको ‘छड्के नजर’ कै कारण कांग्रेसका कतिपय समर्थ नेताहरू स्थानीय, प्रादेशिक र संघीय तहका पार्टी नेतृत्वबाट हताहत भए, त्यसको लेखाजोखा गर्न सजिलो छैन । यो चलन कांग्रेसमा व्यापक छ ।

पहिलो राष्ट्रिय जन–आन्दोलनपछि कांग्रेस कसैको बपौती, कसैको अपुताली, कसैको अंशियारी र कसैको जमिनदारीका रूपमा प्लटिङ गरिएको छ । जो सिद्धान्ततः कांग्रेस हो, उसका लागि पक्कै पनि राजनीति गर्ने ठाउँ खुम्चिएको छ । त्यति लामो इतिहास, आदर्श र जीवनमूल्य बोकेको कांग्रेसको यो अवनतिको कारण के हो ? कांग्रेसका प्राज्ञिक भनेर परिचित महानुभावहरूले मनन र मन्थन गरेर निष्कर्ष निकाल्न सके भने कांग्रेसका लागि राम्रो हुने थियो । आत्मालोचना नगर्ने, आलोचना नसहने र आफ्नो स्वार्थमा चुर्लुम्म डुब्ने नेताहरूका कारण कांग्रेसको गतिशील स्वभाव अवरुद्ध भएकामा कुनै शंका छैन । नेता भनेका राजा होइनन् । अझ, नयाँ जमानाका नयाँ नेताले राजसी ठाँटको खोजी गर्नु भ्रष्टाचारको प्रारम्भ हो ।

पछिल्लो समयमा प्रचण्ड नेतृत्वको मिलीजुली सरकारविरुद्ध कांग्रेसभित्र केही प्रभावशाली छलफलहरू भएका छन् । आफ्नै पार्टीको समर्थनमा बनेको सरकारविरुद्ध दलका नेताहरूको गुटुरगुटुर सुनिनुका खास कारण देखिँदैनन् । यो कुरा कांग्रेसीहरूले बुझ्नैपर्छ कांग्रेसमा आफूलाई ‘प्रभावशाली’ ठान्ने जोजति नेताहरू निर्वाचित भएर आएका छन्, ती सबै मन्त्री पदका आकांक्षी छन् । मन्त्री नबनेसम्म स्वर्गको ढोका नखुल्ने किंवदन्तीमा अड्किएको छ तिनको जीवन । मन्त्रिपरिषद्मा ठाउँ भैदिएको भए प्रधानमन्त्री प्रचण्ड कांग्रेसको, आफ्नै पार्टीका सदस्यहरूको वा मिलीजुली समूहका सबैको मन्त्री–पदीय आकांक्षाको ‘एडजस्टमेन्ट’ मा लाग्थे पनि होलान् । तर अहिलेका लागि संवैधानिक हिसाबले पनि जनताभन्दा धेरै मन्त्री बनाउन सम्भव भएन ।

‘प्रचण्ड’ कामरेडहरू जति बेला युद्धरत थिए, त्यतिबेला तिनका विरुद्ध विषवमन गर्ने अराजनीतिक प्राणीहरू अहिले प्रचण्ड नेतृत्वप्रति वफादार देखिन्छन् भने, शान्तिवार्ताका समयमा प्रचण्डसँग काम गरिसकेका कांग्रेसका नेता शेखर कोइराला र उनीसँग जोडिएका केही मानिसमा मन्त्री पदको चाहना अविचलित रहेको देखिन्छ । कांग्रेसका सदाबहार युवा नेता गगन थापाका बारेमा यसै भन्न सकिँदैन । उनी सभापति देउवाको विरुद्ध छन् कि प्रधानमन्त्री प्रचण्डको, यो कुरा थाहा हुन सकेको छैन । धेरैलाई यो कुरा थाहा छैन होला, प्रधानमन्त्री प्रचण्ड र गगनबीच राजनीतिक रूपले सुमधुर सम्बन्ध छ । प्रधानमन्त्री प्रचण्ड गगनलाई मन्त्री बनाउन तयार होलान् । तर, गगन मन्त्री मात्रै बन्न तयार छन् त ?

धेरैलाई यो कुरा थाहा छैन, नेता शेखर र गगनबीचको मेलमिलाप टुंगिइसकेको छ । गगन एक पटक मन्त्री बनिसके । स्वास्थ्यमन्त्रीका रूपमा उनले काम गरेर देखाए पनि । शेखर मन्त्री बन्ने मुडमा छैनन् । देशभरि रहेका गिरिजाप्रसाद कोइरालाका अनुयायीहरू, विशेष गरी सुनसरी–मोरङका कार्यकर्ताहरू ‘सानोबुबा’ गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारीका रूपमा शेखर स्थापित भएको हेर्न चाहन्छन् ।

शेखरले बेलाबेला आफूलाई कोइराला परिवारको उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न नचाहेको देखाए पनि उनलाई आफ्नो वास्तविक स्थानको ज्ञान छ । जसरी अहिले भारतीय जनताले भारतीय कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय राजीब गान्धीका छोराका रूपमा राहुल गान्धीलाई हेरेका छन्, त्यही ‘नजरिया’ ले शेखरलाई हेर्ने नेपालीहरूको पनि कमी छैन । शेखर प्रधानमन्त्री भए के गर्लान् ? अथवा, गगन प्रधानमन्त्री भए के गर्लान् ? हिजो प्रधानमन्त्री भएकाले के गरे ? यो प्रश्नको जवाफ कतैबाट आउँदैन ।

माओवादी अध्यक्ष प्रचण्डलाई कांग्रेस सभापति देउवाले काँध थापेका छन् । तर, माओवादी र कांग्रेस दुवैले एकअर्काप्रति भरोसा गर्न सकेको देखिएको छैन । देउवाका लागि प्रचण्डसँगको राजनीतिक सम्बन्ध एक प्रकारको राजनीतिक बाध्यता बनेको छ । उनी स्पष्ट बोल्न सक्ने अवस्थामा छैनन् । उनी प्रचण्डले देशबाट भ्रष्टाचारको ‘दबदबा हटाउन’ चलाएको अभियानको विरोध गर्न सक्दैनन् । उनलाई यो कुरा स्पष्ट थाहा छ, प्रधानमन्त्री प्रचण्डको अभियानले दिल्ली, वासिङ्टन, बेइजिङलाई एकैसाथ तरंगित तुल्याएको छ । र, सत्य पनि यही हो । यो काम देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पनि गर्न सक्थे । उनीहरूले किन गरेनन् ? जवाफ त दिनुपर्‍यो नि कसैले ! साभारः कान्तिपुर