दाङमा हत्याको १९ बर्षपछि जेठी श्रीमति विरुद्ध मुद्दा दायर

दिपक बोहरा
दाङ, २० भदौ ।
दाङमा श्रीमानको हत्या भएको १९ वर्षपछि जेठी श्रीमति विरुद्ध मुद्दा दायर गरिएको छ । २०६४ साल पुस ९ गते राती तुलसीपुर उपमहानर–पालिका वडा नं.९ बेलुवा स्थित घरमा चन्द्र प्रकाश वलीको धारिलो हतियार प्रहार गरि हत्या भएको थियो । सोही हत्याको अभियोगमा मंगलबार सरकारी वकिल कार्यालय दाङले जिल्ला अदालतमा उनकी जेठी श्रीमति कौशिला वली विरुद्ध मुद्दा दर्ता गरेको छ । सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधीबक्ता श्रीधर अधिकारीका अनुसार अभियुक्त वली अझै फरार छन् ।

अभियुक्त वलीबाट ५ छोरी र १ छोरा थिए । यद्यपी छोराको सर्पको टोकाईबाट मृत्यु भएपछि चन्द्रप्रकाशले कान्छी श्रीमति विहे गरे । कान्छी श्रीमती ल्याएपनि केही समय उनीहरु बेलुवा स्थित कोठामा संगै बसे । त्यसको केही समयमा बेलुवामै घर किने । नयाँ किनेको घरमा जेठी श्रीमतिसंग गएको अबस्थामा चन्द्र प्रकाशको हत्या भएको अभियोग पत्रमा उल्लेख छ । घटना हुनुभन्दा ११ दिन अघि कान्छि श्रीमति चन्द्रा वलीबाट छोरा जन्मिएको थियो । त्यही बेला उनी शान्तिनगर गाउँपालिका वडा नं. ६ गिधनिया स्थित माइती घर गएकी थिइन ।


चन्द्र प्रकाशका वुवा छविलाल वलीले दिएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालय दाङले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । छविलालले भएको अर्को दिन २०६४ साल पुस १० गते नै किटानी जाहेरी दिएका थिए । चन्द्र प्रकाशको गर्धन र कन्चटमा प्रहार गरि हत्या गरिएको थियो । हत्या पछि बाहिरबाट ताला लगाएर जेठी श्रीमति फरार भएकी थिइन । भोलिपल्ट बिहान ढिलो समयसम्म पनि बुबा कोठाबाट ननिस्किएपछि छोरीहरू र स्थानीयहरु मिलेर ताला फोडेर हेर्दा चन्द्र प्रकाश ओछ्यानमा रक्ताम्मे अबस्थामा मृत भेटिएका थिए ।

उनको मृत्यु पश्चात् ततकालिन महेन्द्र अस्पताल दाङमा गरिएको शव परीक्षण प्रतिवेदन अनुसार टाउको र छातीमा धारिलो हतियारले लागेको गहिरो चोटका कारण मृत्यु भएको पुष्टि भएको थियो । हत्या भएको लामो समय बितिसक्दा पनि प्रतिवादी वली पक्राउ पर्न नसक्दा फरार रहेकै अवस्थामा सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीमार्फत अभियोग पत्र दायर गरिएको हो ।