
दाङ, १९ भदौ ।
दाङ जिल्ला अदालतले ‘अंशसहित सम्बन्ध विच्छेद’ मुद्दामा फैसला गर्दै वैदेशिक रोजगारीका लागि इटालीमा रहेका श्रीमान् र स्वदेशमा रहेकी श्रीमतीबिचको सम्बन्ध विच्छेद गराइदिएको छ । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले उक्त मुद्दामा दुवैको सम्बन्ध विच्छेद गराउँदै पैतृक सम्पत्तिको अंशबण्डा गर्न र नाबालक छोराको पालनपोषणका लागि मासिक १५ हजार रुपैयाँ मानाचामल भराउने फैसला गरेको हो ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. ७ कुमलगढी घर भई हाल इटालीमा रोजगारी गरिरहेका ३६ वर्षीय पूर्ण बहादुर वलीले आफ्ना ३० वर्षीय भाइ पोषण वलीलाई अधिकृत वारेसनामा दिई अंश र सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । पूर्ण बहादुर र पुष्पा डाँगीबिच २०६६ सालमा विवाह भएको थियो र उनीहरूका हाल ११ वर्षका एक छोरा अविषेक वली छन् ।
वादी पूर्ण बहादुरले विगत ६–७ वर्षदेखि इटालीमा कमाएर पठाएको २०–२५ लाख रुपैयाँ श्रीमतीले माइतीलाई दिई हिनामिना गरेको, नागरिकता तथा विवाह दर्ताका कागजातहरू हराएको भनी गैरजिम्मेवार जवाफ दिएको र फोनमार्फत हातखुट्टा भाँचिदिने भन्दै मानसिक तथा शारीरिक यातना दिएको आरोप लगाएका थिए ।
अर्कोतर्फ, प्रतिवादी पुष्पा डाँगी वलीले श्रीमान् अर्कै परस्त्रीसँगको सम्बन्धमा रहेको र आफूलाई पन्छाएर अर्को विवाह गर्ने उद्देश्यले झूटो मुद्दा दायर गरेको जिकिर गरेकी थिइन् ।
उनले श्रीमान्ले खर्च नपठाउँदा आफू र नाबालक छोराले विगत १५ वर्षदेखि नारकीय जीवन बिताउनु परेको दाबी गर्दै सम्बन्ध विच्छेद गर्न अस्वीकार गरेकी थिइन् ।
अदालतले वादी र प्रतिवादीबिच लामो समयदेखि मेलमिलाप गराउने प्रयास गरे पनि सो सफल हुन नसकेको र उनीहरू अलग–अलग बस्दा आपसी बेमेल र मनोमालिन्य बढेर थप मानसिक पीडा पुगेको ठहर गरेको छ । मुलुकी देवानी संहिता, २०७४ को व्यवस्था बमोजिम एक वर्षसम्म पनि मेलमिलाप हुन नसकेपछि अदालतले दुवैको हितका लागि सम्बन्ध विच्छेद गराइदिनु नै उपयुक्त ठहर गरेको हो ।



लाइभदाङ । १९ भाद्र २०८३, शुक्रबार १४:५५ बजे