
दाङ, २० भदौ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ क्षेत्रको सडक वरिपरिका रुखहरु काटिएको भन्दै पालिका अध्यक्ष प्रकाश विष्टसहितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । यद्यपी यही मुद्दामा केही दिन अघि मात्रै उच्च अदालत तुलसीपुरले सफाई दिएको थियो । जिल्ला अदालतले गरेको निर्णयलाई उल्टाउँदै उच्चले निर्दोश सावित गरेको थियो ।
के थियो घटना ?
जब लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ तोकिएको थियो । राजधानीको प्रशासनिक केन्द्र सार्ने तयारी थियो । घटना हो– २०७९ सालको मंसिरको ।
राजधानीलाई स्वागत गर्न र सडक सौन्दर्यकरण गर्ने भन्दै राप्ती गाउँपालिकाको कार्यपालिका बैठकले २०७९ मंसिर १८ गते सडकको दायाँ–बायाँ सरसफाई गर्ने निर्णय ग¥यो । त्यसपछि मंसिर २० गते सडक डिभिजन कार्यालय दाङले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडक खण्डभित्र अतिक्रमण गरिएका मानव निर्मित संरचना र अन्य सामग्री १५ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी ग¥यो । त्यही सूचनालाई आधार मानेर स्थानीयले सडक सीमाभित्रका रुखहरू हटाए ।
राप्ती गाउँपालिका वडा नं. १ पाखापानीदेखि लमही नगरपालिका वडा नं. ४ अर्नवासम्मको खण्डमा रहेका रुखहरु हटाईएको थियो । त्यसपछि वन प्राविधिकहरूले जाँचबुझ गरे । जसबाट ४० हजार पाँचसय ५० घनफिट काठ कटान तथा ओसारपसार गरेको प्रतिवेदन तयार भयो ।
त्यसपछि यो मुद्दामा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, सडक डिभिजन कार्यालय दाङका तत्कालिन प्रमुख राम पुकार जयसवाललगायत विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भयो । जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजलासले २०८२ पुस २ गते फैसला सुनाउँदै सडक डिभिजनका प्रमुख राम पुकार जयसवालको सूचनामा रुख काट्ने कुरा उल्लेख नभएको भन्दै उनलाई सफाई दियो । त्यो बाहेक राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडाध्यक्षहरू वीर बहादुर चौधरी, गेमे खड्का, देव प्रसाद चौधरी र काठ खरिद गर्ने व्यवसायीहरूलाई दोषी ठहर गर्दै १५ दिनदेखि १ महिनासम्मको कैद र जरिवानाको सजाय सुनाइयो ।
यो फैसला चित्त नबुझेपछि जनप्रतिनिधिहरू पुनरावेदनका लागि उच्च अदालत तुलसीपुर पुगेका थिए, जहाँ उच्च अदालतले जिल्ला अदालतको उक्त फैसलालाई उल्टाउँदै उनीहरूलाई सफाइ दियो ।
यद्यपि, उच्च अदालतबाट वन सम्बन्धी मुद्दा उल्टिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८३ भदौ १५ गते विशेष अदालत, काठमाडौंमा ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर ग¥यो ।



लाइभदाङ । २० भाद्र २०८३, शनिबार ०६:४७ बजे