
दाङ, १९ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृष्णजन्माष्टमी पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् ।
कृष्णजन्माष्टमीको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले भगवान् श्रीकृष्णले सत्य, न्याय, कर्तव्य, सदाचार र मानव कल्याणका पक्षमा दिनुभएको सन्देश आजको समाजका लागि पनि उत्तिकै प्रेरणादायी र मार्गदर्शक रहेको उल्लेख गरेका हुन ।
उनले अन्याय, अत्याचार र सामाजिक विकृतिविरुद्ध सत्य तथा न्यायको पक्षमा दृढतापूर्वक उभिन कृष्णजन्माष्टमी पर्वले प्रेरणा प्रदान गर्ने बताए । धार्मिक तथा सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले धार्मिक तथा सांस्कृतिक पर्व र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमार्फत लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोड्न सकिने बताए । धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास प्रदेशको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने भएकाले यसको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
यस वर्षको कृष्णजन्माष्टमी विषम र पीडादायी परिस्थितिका बीच मनाउनुपरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले प्राकृतिक विपद्का कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । विपद्का कारण धेरै परिवारले आफन्त गुमाएको र सयौँ नागरिक विस्थापित तथा प्रभावित भएको भन्दै उहाँले प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गरे ।
विपद्मा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री आचार्यले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे । विपद्को कठिन परिस्थितिमा उद्धार, राहत, पुनःस्थापना तथा विपद् व्यवस्थापनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए । राज्यका सबै तहका सरकार, राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्था, नागरिक समाज तथा आम नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।



लाइभदाङ । १९ भाद्र २०८३, शुक्रबार ०७:२४ बजे