
तुलसीपुर, १९ भदौ ।
वैदेशिक रोजगारीका लागि युवाहरू विदेशिने क्रम तीव्र भइरहेका बेला दाङको बिजौरीमा भने एक दिदी-भाइले स्वदेशमै ब्यबसाय सुरु गरेका छन् । तुलसीपुर–१९ निवासी करुणा केसी र उनका भाइ लोकमान केसीले संयुक्त लगानीमा तुलसीपुर–१८ बिजौरीस्थित मानपुर रोडमा ‘कौडिन्य मिष्ठान्न भण्डार’ सञ्चालनमा ल्याएका हुन्।
करिब २५ लाखको लगानीमा सुरु गरिएको व्यवसायमार्फत दिदी-भाइ स्वयं स्वरोजगार बनेका छन् भने स्थानीय ६ जना युवाहरूलाई समेत प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गरेका छन्।
विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै जन्मभूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ लगानी गरिएको सञ्चालक करुणा केसीले बताइन् । व्यवसायबाट आम्दानी गर्नुका साथै अन्य व्यक्तिहरूलाई पनि रोजगारी दिएर आत्मनिर्भर बनाउन सकियोस् भन्ने मुख्य उद्देश्यका साथ दिदी-भाइ मिलेर यो मिष्ठान्न भण्डार सञ्चालनमा ल्याएको उनीहरुको भनाइ छ ।



लाइभदाङ । १९ भाद्र २०८३, शुक्रबार १४:०१ बजे