
तुलसीपुर, १९ भदौ ।
मानवताको लागि ऐक्यबद्ध होऔँ भन्ने मूल नाराकाभन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवस दाङ शाखाले तुलसीपुरमा मनाएको छ । दाङ शाखाका सभापति मदन गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागीहरूले मानवीय सेवा, विपद् व्यवस्थापन, तथा खानेपानी र सरसफाइको क्षेत्रमा रेडक्रसले पुर्याएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गरेका थिए ।
यसका साथै मानवतावादी सेवामा संलग्न रेडक्रसका स्वयंसेवकहरूलाई अझ उच्च विचारका साथ आफ्नो कर्मपथमा लाग्न र विपद्को यस घडीमा थप क्रियाशील हुन अनुरोध समेत गरिएको छ ।
यसरी मन्तव्य राख्नेहरूमा संस्थापक मन्त्री नवराज रजौरे, रेडक्रस लुम्बिनी प्रदेश सदस्य देविका नेपाली, तुलसीपुर पालिका शाखा संयोजक मदन राज धिताल र जुनियर रेडक्रस समितिका सदस्य होमराज डाँगी रहेका छन् । जिल्ला उप(सभापति हरिहर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण मन्त्री प्रकाश श्रीवन्दले गरेका थिए ।



लाइभदाङ । १९ भाद्र २०८३, शुक्रबार २०:०९ बजे