यस्तो छ नेपालका बैंक तथा वित्तीय क्षेत्रको अवस्था

काठमाडौं, २८ चैत ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । जुन तथ्यांक हेर्दा बैंक तथा वित्तीय संस्थाको पुँजी पर्याप्तता नियामकीय न्यूनतम आवश्यक अनुपातभन्दा बढी रहेको देखिन्छ ।

२०७९ पुस मसान्तमा “क” वर्गका वाणिज्य बैंकको पुँजी पर्याप्तता अनुपात १३.०१ प्रतिशत, “ख” वर्गका विकास बैंकहरूको १२.७१ प्रतिशत र “ग” वर्गका फाइनान्स कम्पनीहरूको १७.०५ प्रतिशत रही समग्रमा उक्त अनुपात १३.०६ प्रतिशत रहेको छ ।

२०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा २.६३ प्रतिशत रहेको छ । जसअनुसार “क” वर्गका वाणिज्य बैंकको २.४९ प्रतिशत, “ख” वर्गका विकास बैंकहरूको २.८२ प्रतिशत र “ग” वर्गका फाइनान्स कम्पनीहरूको ७.८२ प्रतिशत रहेको छ ।

२०७९ पुस मसान्तमा “क” वर्गका वाणिज्य बैंकहरूको पूँजीमा प्रतिफल ११.११ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.११ प्रतिशत रहेको छ । त्यस्तै “ख” वर्गका विकास बैंकहरूको उक्त प्रतिफल क्रमशः ८.५४ र ०.७६ प्रतिशत तथा “ग” वर्गका फाइनान्स कम्पनीहरूको उक्त प्रतिफल क्रमशः २.८४ र ०.४० प्रतिशत रहेको छ ।

२०७९ चैत २६ गते “क” वर्गका वाणिज्य बैंक , “ख” वर्गका विकास बैंक तथा “ग” वर्गका वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात क्रमशः ८५.५८ प्रतिशत, ८४.५६ प्रतिशत र ८२.९३ प्रतिशत रहेको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि र प्रोत्साहन तथा सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी उल्लेख्य रहेकोछ । इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट तथा क्यूआर कोडमार्फत हुने कारोबार संख्या र कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ ।


मुद्राप्रदाय, निक्षेप र कर्जा
विस्तृत मुद्राप्रदायको वृद्धिदरमा सुधार भएको छ । आर्थिक वर्ष २०७९/८० को आठ महिनामा विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ३.१० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय ९.१० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कर्जाभन्दा निक्षेपको वृद्धिदर बढी रहेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप रु.२८० अर्ब ५७ करोड (५.५ प्रतिशत) ले बढेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१९२ अर्ब १२ करोड (४.१ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बंकै तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१२८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.५२२ अर्ब ४९ करोड (१२.८० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.१० प्रतिशतले बढेको छ ।

तरलता व्यवस्थापन
बैकिङ्ग प्रणालीमा नियमित तरलता प्रवाह गरिएको छ । समीक्षा अवधिमा यस बैंकबाट रिपोमार्फत रु.३७७ अर्ब २७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु.८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत रु.२७२० अर्ब ४९ करोड र ओभरनाइट तरलता सुविधा ५१५ अर्ब ६७ करोड गरी कुल रु.३६९७ अर्ब २८ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको छ ।

ब्याजदर
अल्पकालिन र बैंकका ब्याजदरहरू गत वर्षभन्दा बढे पनि अघिल्लो महिनाको तुलनामा कम हुन थालेका छन् । ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर २०७९ फागुनमा ९.३३ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर ७.१८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको औसत आधारदर २०७९ फागुनमा १०.६४ प्रतिशत, निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत रहेको छ । साभारः आर्थिकन्युज