निर्माण कम्पनी भन्छः घोराही–तुलसीपुर तिहार पछि ग्रावेल सुरु हुन्छ

दीपक बोहरा
दाङ, ९ कात्तिक ।
दाङको घोराही–तुलसीपुर चारलेन अन्तर्गतको सडकमा तिहार लगतै ग्राबेल गर्ने गरि तयारी गरिएको छ । निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका इन्जिनियर सुनिल ढुंगानाका अनुसार अहिले वाल र नाली निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै त्यो सकिने वित्तिकै ग्राबेलको काम सुरु गर्ने तयारी रहेको छ । हाल सोही सडकमा १६ प्रतिशत भौतिक प्रगति भएको छ, भने १५ प्रतिशत आर्थिक प्रगति भएको इन्जिनियर ढुंगानाले बताए ।

४० करोड रुपैँया बराबरको काम पूरा भएको उनको भनाई छ । “अहिले स्टकचरको काम भइरहेको छ”,उनले भने “त्यो पनि तिहारसम्म सकिन्छ, अनि ग्रावेलको काम हुन्छ ।” उनका अनुसार १८ किलोमिटर वालको काम पूरा भइसकेको छ, भने नालीको काम पनि अन्तिम चरणमा पुगिसकेको छ । त्यो संगै ग्राबेलको काम सुरु हुने इन्जिनियर ढुंगानाको भनाई छ ।

लामो समयदेखि अलपत्र रहेको उक्त सडक पुनः ठेक्का लगाएर हाल काम सुरु भएको हो । २०८२ असारमा सम्झौता भएर निर्माण कम्पनीले काम गरिरहेको छ । त्यो भन्दा अघि पाँच बर्षसम्म त्यो सडक अलपत्र अबस्थामा रह्यो । जसले गर्दा नागरिकमा ब्यापक गुनासो थियो । अहिले पनि काम रोकिनै वित्तिक नागरिकमा त्यस्तै शंका उत्पन्न हुने गर्छ ।

तर, अहिले काम नरोकिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र विष्टले बताए । उनका अनुसार दशैको समयमा सबै मजदुर पनि घर गएकाले केही समय रोकिएपनि दशै सकिएको भन्दै अबको १÷२ दिनमा काम सुरु हुनेछ । सबै मजदुर कामकालागि आउन थालिसकेका छन् ।


घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म २१ किलोमिटर ५८ मिटर सडक चारलेन हुनेछ । जुन सडकको बीच बीचमा मेडिएन र दुबैतर्फ २/२ लेनको हुने उनले बताए । जसमा बजार क्षेत्रमा फुटपाथ सहितको चारलेन हुनेछ, भने अन्य स्थानमा चारलेन मात्रै   हुनेछ ।

सडक सुधार आयोजना अन्तर्गत मदन भण्डारी सडक मार्ग परियोजनाले ठेक्का सम्झौता गरेर काम अघि बढाएको हो । जुन सडक निर्माण अनुगमनको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाई ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रबिधिबाट कालोपत्रे हुनेछ । जसमा ढुंगा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्रे गरिनेछ । यसले सडकलाई थप मजबुत बनाउनेछ । सम्झौता भएको मितिले ३६ महिनामा सक्ने गरि सम्झौता भएको प्रमुख विष्टले बताए । २०८२ असार २४ मा भ्याट बाहेक २ अर्व २४ करोड ५६ लाखमा सडक चारलेनको काम भएको हो । जुन सडक २०८५ असार भित्रै सक्नु पर्नेछ । सोही अनुसार काम पूरा हुने निर्माण कम्पनीका इन्जिनियर ढुंगानाले बताए ।

सोही सडक चारलेन बनाउनकालागि यस अघिको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालिन अबस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयानुसार ३ करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोही अनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणकालागि प्रक्रिया अघि बढिसकेको छ ।