
दाङ, ११ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर उपमहानगरपालिका कार्यसमिति, दाङले रसुवाको भोटेकोशी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितहरूका लागि तत्काल उद्धार, राहत तथा सहयोगका लागि हार्दिक अपिल गरेको छ ।
रास्वपा तुलसीपुरका सभापति जीवन भण्डारीद्वारा हस्ताक्षरित अपिलमा भदौ १० गते बिहान रसुवाको भोटेकोशी तटीय क्षेत्रमा अचानक आएको भीषण बाढीका कारण देशले ठूलो मानवीय र भौतिक क्षति ब्यहोर्नु परेको उल्लेख छ । बाढीका कारण सयौँको संख्यामा नागरिकहरूले ज्यान गुमाएको भन्दै सिंगो देश नै स्तब्ध र मर्माहत भएको जनाइएको छ ।
रास्वपा तुलसीपुरले बाढीमा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा डुबेका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएका र अस्पतालमा उपचार गराइरहेका नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना समेत गरेको छ।
अहिलेको समय निकै संवेदनशील भएको औँल्याउँदै घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावितहरूलाई सुरक्षा दिनु नै पहिलो प्राथमिकता भएको उल्लेख गरिएको छ नेपाल सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर छिटोभन्दा छिटो उद्धार कार्य सम्पन्न गर्नुपर्ने माग रास्वपाले गरेको छ ।
यस प्राकृतिक विपत्तिको समयमा सबै नेपाली नागरिक, रास्वपाका सदस्यहरू, सामाजिक संघ-संस्था, उद्योगी(व्यवसायी, युवा स्वयंसेवक र आम सर्वसाधारणलाई एकजुट भई सहयोगको हात बढाउन अनुरोध गरिएको छ ।बाढी प्रभावितहरूलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्न तथा दीर्घकालीन रूपमा पुनःस्थापना गर्नका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषु र प्रधानमन्त्री राहत कोषु मा आफ्नो गच्छेअनुसारको आर्थिक सहयोग उपलब्ध गराउन समेत रास्वपा तुलसीपुरले आम नागरिकसँग हार्दिक अपिल गरेको छ ।



लाइभदाङ । ११ भाद्र २०८३, बिहीबार २१:३४ बजे