रुकुममा दुई जनाको हत्या गरेको आरोपमा एक महिला पक्राउ

रुकुम, २९ साउन ।
रुकुम पश्चिममा दुई जना महिलाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । मुसिकोट नगरपालिका १ की ५२ वर्षीया हस्तकली बुढाथोकी र २०७५ साल असार १० गते मृत भेटिएकी ४६ वर्षीया आइती बुढाथोकीको हत्या आरोपमा २३ वर्षीया सिर्जना बुढा बोहरा पक्राउ परेकी हुन् ।

गएको बिहीवार मृत भेटिएकी हस्तकलीको हत्या आरोपमा पक्राउ परेकी सिर्जनाले झन्डै पाँच वर्षअघि आइतीको पनि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार बोहराले दुवै जनाको हत्या गरेको स्वीकार गरेकी छन् । सिर्जनाले प्रहरी समक्ष पाँच वर्षअघि आफूले गरेको हत्या कसैले पनि पत्ता लगाउन नसकेपछि हस्तकलीको पनि हत्या गरेको बयान दिएकी हुन् ।

दुवै महिलाको हत्याको उद्देश्य र प्रकृति एउटै रहेको प्रहरीले जनाएको छ । गहना र पैसा लुट्ने उद्देश्यले उनीहरुको हत्या भएको हो । प्रहरीले हस्तकलीको हत्या प्रकरणमा बोहरासहित अन्य दुई जनालाई पक्राउ गरेको छ ।