
दीपक बोहरा
प्रकाशक
लोकतान्त्रिक समाजको सुदृढीकरण र नागरिक चेतनाको अभिवृद्धिमा पत्रकारिताको भूमिकालाई संसारभर नै ‘समाजको ऐना’ का रूपमा परिभाषित गर्ने गरिन्छ । यो शास्त्रीय मान्यताले पत्रकारिताको शक्ति र यसको जिम्मेवारीलाई एकसाथ उजागर गर्दछ। एउटा स्पष्ट ऐनाले जस्तो आकृति छ, त्यस्तै प्रतिविम्ब देखाउँछ; ठिक त्यसैगरी पत्रकारिताले पनि समाजको यथार्थलाई जस्ताको त्यस्तै चित्रण गर्नुपर्दछ भन्ने यसको मूल मर्म हो । तर, आधुनिक सञ्चार विमर्शमा यो ‘ऐना’ केवल प्रतिविम्ब देखाउने साधन मात्र होइन, बरु समाजको चरित्र निर्माण गर्ने र नागरिकको मनोविज्ञानलाई निर्देशित गर्ने एक सक्रिय अवयवका रूपमा स्थापित भएको छ । सञ्चार माध्यम र समाजको सम्बन्ध यति गहिरो र अन्योन्याश्रित हुन्छ कि एउटाको अभावमा अर्कोको अस्तित्व र विकास दुवै अपूर्ण रहन्छन् ।
समाजमा घटित हुने हरेक घटना, बदलिँदो सामाजिक संरचना, आर्थिक उतारचढाव र राजनीतिक परिवर्तनको पहिलो साक्षी मिडिया नै हो। जब हामी पत्रकारितालाई समाजको ऐना भन्छौं, त्यहाँ केवल दृश्य घटनाहरूको विवरण मात्र हुँदैन, बरु समाजभित्र लुकेका जटिलता, सम्भावना र गहिराइको विश्लेषण पनि अन्तरनिहित हुन्छ । समाजको विकास र गतिशीलतामा मिडियाले उत्प्रेरकको काम गर्दछ। एक सचेत पत्रकारले सम्प्रेषण गर्ने सूचनाले नागरिकलाई सुसूचित मात्र गर्दैन, बरु उनीहरूलाई अधिकार र कर्तव्यप्रति जागृत समेत गराउँछ । त्यसैले, पत्रकारिताको अपरिहार्यतालाई केवल सूचना प्रवाहमा मात्र सीमित नगरी यसलाई सामाजिक रूपान्तरणको एउटा प्राज्ञिक र गम्भीर कडीका रूपमा बुझ्नु आवश्यक छ ।
नेपाली सञ्चार जगतमा ‘खोजी पत्रकारिता’ भन्ने शब्दलाई प्रायः अतिरञ्जित र संकुचित ढङ्गले बुझ्ने गरिएको पाइन्छ । आम बुझाइमा कसैले घुस खाइरहेको भिडियो गोप्य रूपमा खिच्नु, ‘स्टिङ अपरेसन’ गर्नु वा कसैको व्यक्तिगत गोपनियताभित्र छिरेर सूचना निकाल्नुलाई नै खोजी पत्रकारिता भन्ने गरिन्छ । तर, यो पूर्ण सत्य होइन । खोजी पत्रकारिताको वास्तविक परिभाषा यसभन्दा निकै बृहत् र गहन छ । “जुन विषय शक्तिशालीहरूले लुकाउन खोजेका छन्, त्यसलाई सार्वजनिक हितका लागि उत्खनन गर्नु’’ खोजी पत्रकारिता त हो । तर, माथि भनिए जस्तो गोप्य भिडियो सार्वजनिक गर्नु मात्रै भने होइन । यदि कुनै कुरा सहजै उपलब्ध छ भने त्यो समाचार हो, तर यदि कसैले नियतवश लुकाउन खोजेको छ र त्यसले समाजलाई असर गर्छ भने त्यसको चुरो पत्ता लगाउनु खोजी पत्रकारिता हो।
बेथिति र भ्रष्टाचारको गहिरो उजागरः समाजमा जरा गाडेर बसेका नकारात्मक पक्ष, संस्थागत भ्रष्टाचार, नीतिगत बेथिति र शक्तिको दुरुपयोगलाई सतहमा ल्याउनु खोजी पत्रकारिताको प्राथमिक दायित्व हो। पहुँचवालाहरूले पर्दापछाडि गर्ने निर्णयहरू जसले सर्वसाधारणको जीवनमा प्रत्यक्ष असर पार्छन्, तिनको तथ्यपरक विश्लेषण र प्रमाणसहितको प्रस्तुतिले नै पत्रकारितालाई ‘वाचडग’ का रूपमा स्थापित गर्छ ।
सकारात्मक पक्षको अन्वेषणः एक नौलो दृष्टिकोणः सामान्यतया खोजी पत्रकारितालाई केवल नकारात्मकता वा अपराधसँग मात्र जोडेर हेर्ने गरिन्छ । तर, समाजका सकारात्मक पाटाहरूको खोजी गर्नु पनि उत्तिकै महत्वपूर्ण खोजी पत्रकारिता हो। समाजमा यस्ता थुप्रै प्रेरणादायी व्यक्तित्व, मौलिक प्रयास र सफलताका कथाहरू हुन्छन्, जो प्रचारको अभावमा ओझेलमा परेका हुन्छन् । समाजलाई निराशाबाट बाहिर निकाल्न र विकासको नयाँ बाटो देखाउन त्यस्ता लुकेका सकारात्मक प्रयासहरूको खोजी गर्नु आजको आवश्यकता हो। पत्रकारिता केवल ‘पोस्टमार्टम’ गर्ने औजार मात्र नभई ‘प्रिभेन्सन’ र ‘प्रोत्साहन’ को माध्यम पनि बन्नुपर्छ ।
जनरुचि र सामाजिक आवश्यकताको सन्तुलनः पत्रकारितामा एउटा ठूलो द्वन्द्व ‘जनरुचि’ र ‘सामाजिक आवश्यकता’ बीच हुने गर्दछ । पाठक वा दर्शक के चाहन्छन् (रुचि) र समाजलाई वास्तवमा के आवश्यक छ (दिशा) भन्ने कुरामा पत्रकारले विवेकपूर्ण निर्णय लिनुपर्छ । सस्तो लोकप्रियताका लागि केवल सनसनीपूर्ण विषयहरू मात्र पस्कनु पत्रकारिताको धर्म होइन । समाजको चासोलाई सम्मान गर्दै गर्दा समाजलाई कुन दिशामा लैजाने भन्ने गम्भीर दायित्वलाई भुल्नु हुँदैन ।
मिडिया क्षेत्रको संवेदनशीलता यस अर्थमा उच्च छ कि यसले प्रवाह गर्ने एउटै गलत सूचनाले समाजमा अपूरणीय क्षति पु¥याउन सक्छ भने एउटै सही विश्लेषणले समाजलाई समृद्धिको मार्गमा डो¥याउन सक्छ । पत्रकारले चलाउने कलम केवल मसीको रेखा होइन, यो त समाजको भविष्य कोर्ने कुची पनि हो। त्यसैले पत्रकारितामा “सकारात्मक कलम’’ को अवधारणा अत्यन्तै महत्वपूर्ण हुन्छ । सकारात्मक कलमको अर्थ कमजोरीहरूलाई लुकाउनु होइन, बरु समस्याको उठान गर्दा समाधानमुखी र समाजलाई सही दिशा दिने नियत राख्नु हो। मिडियाको अवस्थाले समाजको स्तर प्रतिबिम्बित गर्दछ । जहाँ मिडिया कमजोर, अल्पविकसित र स्रोतसाधन विहीन हुन्छ, त्यहाँको समाज स्वाभाविक रूपमा सूचनाको हकबाट वञ्चित भई पछाडि पर्दछ । तर, कमजोर मिडियाभन्दा पनि खतरनाक पक्ष ‘विकृत मिडिया’ हो । यदि मिडिया क्षेत्र साधनसम्पन्न छ तर यसको नियत र क्रियाकलाप विकृत छ भने त्यसले समाजलाई झनै ठूलो अन्धकारतर्फ धकेल्छ । गलत मार्गनिर्देशन गर्ने, भ्रम फैलाउने र पूर्वाग्रह राखेर समाचार सम्प्रेषण गर्ने मिडियाले समाजको नैतिक धरातल नै भत्काइदिन्छ । त्यसकारण, सञ्चार माध्यमले आफूलाई केवल व्यावसायिक रूपमा मात्र होइन, नैतिक र सामाजिक रूपमा पनि उत्तिकै सुदृढ बनाउनु पर्दछ ।
सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता कुनै विकल्प होइन, यो अनिवार्य शर्त हो। पत्रकारिताको विश्वव्यापी मान्यताअनुसार सत्यता, तथ्यपरकता र सन्तुलन नै यसका मुख्य खम्बाहरू हुन् । यी खम्बाहरू डगमगाएमा पत्रकारिताको साख मात्र ढल्दैन, बरु समाजको न्याय प्रणाली र लोकतन्त्र नै खतरामा पर्दछ ।
जवाफदेही पत्रकारिताको मर्मः पत्रकार र सञ्चार गृहहरू कुनै पनि अदृश्य शक्तिप्रति नभई केवल समाज र आफ्ना पाठकप्रति जवाफदेही हुनुपर्छ । आफूले लेखेको हरेक शब्द र त्यसले समाजमा पार्ने प्रभावको पूर्ण जिम्मेवारी लिने हिम्मत नै वास्तविक पत्रकारिता हो । समाचारको गुणस्तर र यसको विश्वसनीयतामा सम्झौता गर्नु सामाजिक उत्तरदायित्वबाट विमुख हुनु हो। तथ्य र सन्तुलनको अनिवार्य सर्तः समाचारमा केवल एउटा पक्षको आवाज मात्र हुनुहुँदैन । कुनै पनि विवाद वा घटनामा संलग्न सबै पक्षको धारणालाई निष्पक्ष रूपमा प्रस्तुत गर्नु नै सन्तुलन हो। पर्याप्त अध्ययन र अनुसन्धानविनाका हचुवा सूचनाले समाजमा भ्रम मात्र सिर्जना गर्छन्। त्यसैले, तथ्यको पुष्टि र सबै पक्षको प्रतिनिधित्व नै सत्यसम्म पुग्ने एक मात्र बाटो हो। सुशासन निर्माणमा मिडियाको भूमिकाः समाजमा व्याप्त बेथिति, अनियमितता र विसंगतिहरूको अन्त्य गरी सुशासनयुक्त समाज निर्माणमा मिडियाले बलियो पहरेदारको भूमिका निर्वाह गर्नुपर्दछ । भ्रष्टाचारमुक्त प्रशासन र पारदर्शी राज्य संयन्त्र निर्माणका लागि मिडियाले गर्ने निरन्तरको खबरदारीले नै नागरिकलाई न्यायको प्रत्याभूति दिलाउन सक्छ। सुशासन केवल सरकारको दायित्व मात्र होइन, मिडियाको सक्रियताले यसलाई सम्भव बनाउँछ ।
एक निर्भीक पत्रकारले कुनै पनि शक्तिशाली व्यक्ति वा निकायको विरुद्धमा कलम चलाउँदा डराउनु हुँदैन। यदि कुनै व्यक्तिको पद वा शक्तिको आडमा भएका कार्यले समाजलाई हानी पुराÞ्इरहेको छ भने त्यसलाई उजागर गर्नु पत्रकारको परम कर्तव्य हो।“हामीले नलेख्दा समाजलाई असर पर्छ’’ भन्ने महसुस भएपछि जुनसुकै प्रभावशाली व्यक्ति किन नहोस्, ऊ विरुद्ध खोजी पत्रकारिता (Investigative Journalism) गर्नै पर्छ । यहाँ कुनै पनि नातावाद, कृपावाद वा स्वार्थले ठाउँ पाउनु हुँदैन । तर, यो निर्भीकतासँगै एक प्रकारको गम्भीर नैतिक सीमा पनि जोडिएको हुन्छ । पत्रकारितामा “के लेख्ने“ जत्तिकै महत्वपूर्ण “के नलेख्ने’’ भन्ने कुरा पनि हुन्छ । यदि कुनै विषय सम्प्रेषण गर्दा त्यसले समाजलाई गलत बाटोमा लैजान्छ, सामाजिक सद्भाव बिगार्छ वा अनावश्यक अराजकता निम्त्याउँछ भने त्यस्तो विषयमा मौन रहनु वा त्यसलाई सम्प्रेषण नगर्नु नै पत्रकारिताको परिपक्वता हो । हामीले लेखेका कुराले समाजलाई फाइदा पुग्छ कि क्षति? यो प्रश्नको उत्तर नै पत्रकारको सीमा निर्धारण गर्ने कसी हो। व्यक्तिगत स्वार्थ वा चर्चा कमाउने अभिलाषाभन्दा माथि उठेर समाजको बृहत्तर हितलाई केन्द्रमा राख्नु नै पत्रकारिताको निर्भीकता र सीमा बीचको सुन्दर तालमेल हो।



लाइभदाङ । ११ भाद्र २०८३, बिहीबार १४:३० बजे