
दाङ, ११ भदौ ।
लुम्बिनी फ्युचर पाथ प्रा.लि.ले रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि एक लाख बढि आर्थिक सहयोग गरेको छ।
प्रा.लि. अन्तर्गत सञ्चालित विभिन्न विद्यालयहरूमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूले आफ्नो एक दिन बराबरको तलब कट्टा गरी सहयोग रकम जुटाएका हुन्। संकलित रकममध्ये दाङको दोघरेस्थित लुम्बिनी स्मार्ट स्कुलबाट रु. ६० हजार ३ सय ३३, हेमन्तपुरस्थित लुम्बिनी मोडर्न स्कुलबाट रु. २० हजार १ सय ६३ र हापुरेस्थित लुम्बिनी आइडल स्कुलबाट रु. २१ हजार ७ सय ३० संकलन भएको थियो।
यसरी विद्यालयहरूबाट संकलन भएको जम्मा रु. एक लाख दुई हजार दुई सय छब्बीस रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिएको छ। आफ्नो सानो प्रयासले विपद्मा परेका नागरिकहरूको पुनर्स्थापना र राहतमा थोरै भए पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सहयोग गरिएको सिइयो बामदेव सापकोटाले बताए ।
संस्थाले विपद्का कारण ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।



लाइभदाङ । ११ भाद्र २०८३, बिहीबार १४:०५ बजे