
तुलसीपुर, १० भदै ।
दाङको तुलसीपुरस्थित सुन्नी कादरिया जामा मस्जिद समिति, तुलसीपुर–५ को आयोजनामा पैगम्बर हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको १५०१ औँ जन्मजयन्तीको अवसरमा र्याली प्रदर्शन गरिएको छ । जसले स्थानीय स्तरमा धार्मिक सहिष्णुता र आपसी एकताको बलियो सन्देश प्रवाह गरेको छ ।
जन्मजयन्तीको उपलक्ष्यमा निकालिएको उक्त र्यालीमा मुस्लिम समुदायका अगुवा, धार्मिक गुरु, युवा तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले हातमा विभिन्न धार्मिक झण्डाहरू बोकेर धार्मिक नारा लगाउँदै तुलसीपुरका विभिन्न चोक तथा बजार क्षेत्रको परिक्रमा गरेका थिए । र्यालीका क्रममा सहभागीहरूले पैगम्बर मुहम्मदप्रति उच्च श्रद्धा र सम्मान प्रकट गर्दै उनले देखाएको मार्गको स्मरण समेत गरेका थिए ।
इस्लाम धर्मावलम्बीहरूले पैगम्बर हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई अल्लाहका अन्तिम रसुल तथा सम्पूर्ण मानवजातिलाई सत्य, शान्ति र सदाचारको मार्ग देखाउने महान् व्यक्तित्वका रूपमा उच्च सम्मान गर्ने गर्दछन् ।



लाइभदाङ । १० भाद्र २०८३, बुधबार २१:२० बजे