
दाङ, ११ भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति अखिल नेपाल महिला संगठनले दुःख व्यक्त गर्दै खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र तत्काल परिचालन गर्न सरकारसँग माग गरेको छ।
संगठनकी संयोजक दामा शर्मा र सह-संयोजक मुनु सिग्देलको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तिमार्फत तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र नवलपरासीका नदी आसपासका क्षेत्रसमेत प्रभावित हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
संगठनले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उद्धार र उपचारलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
विज्ञप्तिमा विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण तत्काल संकलन गर्न, खोज तथा उद्धारलाई तीव्र बनाउन र प्रभावितलाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गरिएको छ।

विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य जोखिममा रहेका समुदायको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक राहत तथा मानवीय सहयोग तत्काल उपलब्ध गराउन संगठनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
अखिल नेपाल महिला संगठनले आफ्ना सम्पूर्ण कमिटी तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा मानवीय सहयोगमा सक्रिय रूपमा सहभागी हुनसमेत निर्देशन दिएको छ।
संगठनले विपद्को यस दुःखद् घडीमा सबै राजनीतिक दल, सामाजिक संघ–संस्था, नागरिक समाज तथा आम नागरिकलाई पीडित तथा प्रभावितको सहयोगमा एकजुट हुन अपिल गरेको छ।
“शोकमा एकताबद्ध हुँदै, उद्धार र राहतमा सक्रिय बनौँ” भन्ने आह्वानसहित संगठनले विपद् प्रभावित नागरिकको जीवनरक्षा र राहतलाई सामूहिक दायित्वका रूपमा अघि बढाउन आग्रह गरेको छ।



लाइभदाङ । ११ भाद्र २०८३, बिहीबार १३:४३ बजे