लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बिमा

तुलसीपुर , भदौ १० ।
लुम्बिनी प्रदेश सरकारले १ हजार २०६ जना पत्रकारको दुर्घटना बिमा गरिदिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर्दै आर्थिक सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले प्रदेश सरकार बिमा गरि दिएको हो ।

प्रदेश सरकार आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय, राष्ट्रिय बिमा कम्पनी लिमिटेड बाँके नेपालगंज र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका बिच बुधबार दुर्घटना बिमा बारे सम्झौता भएको हो ।

मन्त्रालयका तर्फबाट प्रदेश सचिव भरतमणि पाण्डे, बिमा कम्पनीका तर्फबाट शाखा प्रमुख नवीन शर्मा पौडेल र पत्रकारका तर्फबाट प्रदेश समितिका सदस्य ओमप्रकाश गुप्ताले हस्ताक्षर गरेका छन् ।


संझौतामा अनुसार प्रदेशमा क्रियाशिल १ हजार २०६ जना पत्रकारको प्रतिव् यक्ति ५ लाख ६५ हजार रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको छ ।प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको दुर्घटना बीमा गरिएको हो ।

सम्झौताअनुसार बिमित पत्रकारले दुर्घटनाबाट क्षति व्यहोरेको अवस्थामा तोकिएको बिमा रकम तथा प्रचलित बिमा व्यवस्था अनुसारको सुविधा प्राप्त गर्ने छन् ।