भोटेकोशी बाढीः तरुणदल तुलसीपुरद्वारा दुःख ब्यक्त

तुलसीपुर, ११ भदौ ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण स्याफ्रुबेसी, टिमुरे लगायतका क्षेत्रमा भएको ठूलो जनधन तथा भौतिक संरचनाको क्षतिप्रति नेपाल तरुण दल, तुलसीपुर नगर समितिले गहिरो दुःख व्यक्त गरेको छ ।

नगर समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता नागरिकहरूको खोजी र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकार र स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ ।


नेपाल तरुण दल तुलसीपुरका अध्यक्ष कमल घर्ती र सचिव अजय बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस विपद्को घडीमा राजनीतिक आस्था र विचारभन्दा माथि उठेर मानवीय उद्धार, राहत र पुनःस्थापनलाई पहिलो प्राथमिकता दिन आवश्यक रहेको बताइएको छ । तरुण दलले आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार एवं राहत संकलन कार्यमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ ।

बाढी तथा पहिरोको जोखिममा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, आवश्यक खाद्यान्न, खानेपानी, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको तत्काल व्यवस्था मिलाउन तरुण दलले सरकारसँग विशेष आग्रह गरेको छ ।