परिवर्तित समयमा छापा माध्यमको सान्दर्भिकता र हाम्रो यात्रा

अग्रिम साप्ताहिक विधिवत रूपमा २०७८ सालको भदौ दोस्रो सोमबारदेखि तुलसीपुर, दाङबाट आफ्नो प्रकाशन यात्रा सुरु गरेको हो। आज गौरवमय पाँच वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गर्दा हामी हाम्रा सम्पूर्ण आदरणीय पाठकवर्ग, विज्ञापनदाता, लेखक, सहयोगदाता र शुभचिन्तकहरूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं। दाङ जिल्लाका सबै स्थानीय तह (पालिका) देखि यस लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा समेत आफ्नो पहुँच विस्तार गरिसकेको अग्रिम साप्ताहिकले यस अवधिमा छापा पत्रकारिताको गरिमा र महत्वलाई जोगाइराख्न निरन्तर प्रयत्न गरिरहेको छ। विज्ञान र प्रविधिको द्रुत विकासले गर्दा सञ्चार माध्यमको स्वरूप बदलिएको वर्तमान युगमा पनि छापा माध्यमको आफ्नै विशिष्ट भूमिका छ भन्ने हेतुले नै हामीले यो यात्रा प्रारम्भ गरेका थियौं।

आजको समयमा अनलाइन सञ्चार माध्यमहरूको संख्या दिनप्रतिदिन थपिने क्रम तीव्र छ। तर यस भीडमा सामाजिक सञ्जाल र कतिपय अनलाइन मिडियामा आउने सामग्रीहरूले पाठकहरूमा शंका र अविश्वास सिर्जना गरिरहेको अवस्था पनि उत्तिकै टड्कारो छ। यस्तो संवेदनशील समयमा छापा माध्यमले सन्तुलन कायम गर्दै आफ्नो विश्वसनीयता र बलियो स्थानलाई जोगाउन सफल भएका छन्।

हामी यस कुरामा स्पष्ट छौं कि पाठकहरूको तत्काल सूचना पाउने अधिकारलाई कुण्ठित गर्नु हुँदैन। त्यसैले, हामीले छापा संस्करणसँगै तत्काल सूचना प्रवाहका लागि डिजिटल सञ्चार माध्यमको रूपमा अनलाइन पोर्टल धधध।ष्खिभमबलन।अयm पनि सञ्चालनमा ल्याएका छौं। तत्काल घटेका घटना, दुर्घटना र सूचनाहरू हामी अनलाइनमार्फत द्रुत गतिमा प्रवाह गर्दछौं भने खोजीमूलक, गम्भीर विषयवस्तु र समाजलाई बाटो देखाउने खालका सामग्रीहरूलाई हामीले पत्रिका (छापा माध्यम) को माध्यमबाट पाठकमाझ पस्किँदै आएका छौं। साथै, हामीले केही भिडियो रिपोर्टहरू पनि पस्किरहेका छौं र यसलाई अझ बढी परिष्कृत गरी चाँडै नै पूर्ण भिडियो सेवा सुरु गर्ने तयारीमा पनि जुटेका छौं।

हाम्रो स्पष्ट मान्यता के छ भने अनलाइन वा सामाजिक सञ्जालले दिने जस्तै तत्कालका ‘हार्ड न्यूज’ मात्रै छापा पत्रिकाले पस्किरहने हो भने त्यसले पाठकलाई आकर्षित गर्न सक्दैन। त्यसैले हामीले समाचारको परम्परागत ट्रेन्डमा परिवर्तन गर्दै ‘सफ्ट न्यूज’ र गहन विश्लेषणमा जोड दिने नीति अख्तियार गरेका छौं र सोही मान्यता अनुरूप अघि बढिरहेका छौं। पत्रकारिता आचारसंहिता, यसका विश्वव्यापी अभ्यासहरू र सामाजिक उत्तरदायित्वप्रति हामी सदैव स्पष्ट र प्रतिबद्ध छौं।


हाम्रो कलमले समाजमा व्याप्त विकृतिहरूविरुद्ध आवाज उठाउँदै सत्य र तथ्य कुराहरूलाई स्थापित गराउनुका साथै गलत बाटोमा हिँडिरहेको समाजलाई सही मार्गमा हिडाउन मद्दत पु¥याइरहेको हामीले अनुभूति गरेका छौं। आगामी दिनमा पनि पत्रकारिताको धर्म, मर्म र सीमालाई सधैं शिरोपर गरेर नै पत्रकारिता गर्ने हाम्रो दृढ प्रतिवद्धता छ। हाम्रो यस पाँच वर्षे यात्रा र समग्र पत्रकारिताको मूल्याङ्कन गर्ने जिम्मा हाम्रा आदरणीय पाठकवर्गकै हातमा छाड्दै, आगामी दिनहरूमा पनि यहाँहरूबाट यस्तै निरन्तर साथ, सहयोग र हौसलाको अपेक्षा गर्दछौं।