
दाङ, १० भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जनधनको क्षति भएपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले रसुवा क्षेत्रमा रहेका राप्तीवासीलाई सहयोग आवश्यक परे तत्काल गाउँपालिकामा खबर गर्न आग्रह गर्नुभएको छ।
कामको सिलसिलामा राप्ती गाउँपालिकाबाट रसुवा पुगेका तथा बाढी प्रभावित क्षेत्रमा रहेका राप्तीवासीको अवस्थाप्रति चासो व्यक्त गर्दै अध्यक्ष विष्टले कुनै समस्या वा सहयोग आवश्यक परे गाउँपालिकालाई जानकारी गराउन आग्रह गर्नुभएको हो।

उहाँले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सबैलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गर्नुभएको छ।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष विष्टले विपद्को यस घडीमा सबै पक्ष एकताबद्ध भएर उद्धार तथा सहयोगमा जुट्नसमेत आग्रह गर्नुभएको छ।
अध्यक्ष विष्टले राप्ती गाउँपालिकाबाट रसुवा क्षेत्रमा कामको सिलसिलामा पुगेका नागरिकको अवस्थाबारे गाउँपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ।



लाइभदाङ । १० भाद्र २०८३, बुधबार १४:३३ बजे