नेपालमा स्थायी सरकार निर्माण गर्ने कुरा नारामा मात्रै सीमित बन्न पुगेको छ । एउटा सरकार निर्माण भएमा १/२ वर्ष भन्दा बढि टिक्न सकेको छैन । त्यसको एउटै कारण हो–कुनै पनि पार्टीको एकल बहुमत नहुँनु । एकल बहुमत नहुँदा फरक–फरक बिचार राख्ने पार्टी होस्, वा एउटै विचार राख्ने पार्टीबीचमा मतभेत हुने र बीचमै सरकार ढल्ने सम्मको अबस्था आउछ । विगतदेखि यसले नै निरन्तरता पाइरहेको छ । केही समय एउटाको सरकार चल्ने र त्यसमा भागबण्डा नमिलेपछि सरकार ढाल्ने वा गठबन्धन फेरिने कुरा नेपालकालागि नौलो विषय छैन ।
यसरी गठबन्धन फेरिदा जनताको जीवनस्तरमा पनि प्रभाब पार्ने गरेको छ । सधै सरकार बनाउने, भत्काउने र जोगाउने चिन्तामै बढि केन्द्रित हुनुपर्ने अबस्था छ । यसले गर्दा जनताको जीवनस्तरमाथि खासै चिन्ता गर्ने तर्फ नेतृत्वले ध्यान दिने समय पनि पाउँदैनन् । मुलुकमा एकल बहुमत नपुग्दा लामो समय यसरी रुमल्दिा पटक–पटक जनस्तरबाट खबरदारी पनि हुने गरेका छन् । मुलुकमा ब्यबस्था फेरियो । १० वर्षे जनयुद्ध र त्यसैको जगमा भएको १९ दिने आन्दोलनले ब्यबस्थामा निकै परिवर्तन भएको छ । तर, अबस्था परिवर्तन भने उस्तै छ । अहिले बेरोजगारीको समस्या ब्याप्त छ । देश छोडेर विदेश जानेहरुको लर्को छ । तर, खेतियोग्य जमिन बाँझो छन् । उत्पादन घटिरहेको छ । यसले गर्दा नेपालमा सम्भावना देख्न छोड्नेहरु पनि उत्तिकै भए । मेहनत गरे नेपालमै पनि गर्न सकिन्छ, भन्ने उदाहरण हुँदा हुँदै पनि नेपालमा काम गर्न लजाउने तर विदेश गएर भाडा माझ्न समेत तयार हुने पंत्ति अहिले विदेश गइरहेको छ । यसमा सरकारको नीतिले पनि केही प्रभाब त पारेको होला, तर पनि विदेशीनेहरुको लर्को छ । यसको मुख्य दोष अस्थायी सरकारलाई नै दिइन्छ ।
मुलुकमा प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको बहस पनि चलिरहन्छ । तर,त्यो बहसले पनि सार्थकता पाउन सकेको छैन् । त्यसमा पनि राजनीतिक दलहरु विभाजित हुँदा पनि त्यसले समस्या पार्ने गरेको छ । मुलुकमा कार्यकारी प्रणाली लागु नहुँदा वा कुनै पनि पार्टीको एकल बहुमत नआउँदासम्म अहिलेको अस्थिरता कायम रहन्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २८ फाल्गुन २०८०, सोमबार १८:२६ बजे