दंगीशरण गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

दंगीशरण, २५ श्रावण ।
दाङको दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा सोमबार सम्पन्न कार्यक्रममा उपाध्यक्ष पिमा वली खड्का, प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, जनप्रतिनिधि, कर्मचारी, स्थानीय नागरिक तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले गाउँपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रम, बजेट कार्यान्वयन, आम्दानी तथा खर्चलगायतका विषयमा जानकारी गराउनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सार्वजनिक सुनुवाइ स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। गाउँपालिकाले नागरिकका आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले विकास निर्माणसँगै सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष गिरीले गाउँपालिकाका कामकारबाहीमा नागरिकको निगरानी, सुझाव र रचनात्मक आलोचना आवश्यक रहेको बताउँदै सार्वजनिक सुनुवाइका क्रममा उठेका प्रश्न तथा सुझावलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेत समेटिने बताउनुभयो। गाउँपालिकाको विकास र समृद्धिका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।


त्यसैगरी गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले स्थानीय सरकारको सफलता नागरिकको सहभागिता र सन्तुष्टिसँग जोडिएको बताउनुभयो। गाउँपालिकाबाट प्रवाह हुने सेवा सहज, छिटोछरितो र पारदर्शी बनाउन जनप्रतिनिधि तथा कर्मचारी निरन्तर लागिरहेको उल्लेख गर्दै उहाँले नागरिकलाई आफ्ना समस्या, गुनासा तथा सुझाव खुलेर राख्न आग्रह गर्नुभयो।

सार्वजनिक सुनुवाइका क्रममा सहभागी नागरिक तथा सरोकारवालाले गाउँपालिकाको विकास निर्माण, योजना कार्यान्वयन, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सुशासनलगायतका विषयमा प्रश्न, जिज्ञासा, गुनासा तथा सुझाव राखेका थिए। सहभागीहरूले स्थानीय सरकारबाट प्रवाह हुने सेवाहरूलाई अझ सहज, प्रभावकारी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विनोद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पत्रकार वसन्त पौडेलले सहजीकरण गर्नुभएको थियो।

सार्वजनिक सुनुवाइले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्नुका साथै स्थानीय सरकारलाई थप पारदर्शी, जवाफदेही र नागरिकप्रति उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।