
दीपक बोहरा
तुलसीपुर, १२ कात्तिक।
मौसम पूर्वानुमान महाशाखाले विहीबारदेखि वर्षा हुने चेतावनी दिएपछि दाङका किसानहरूलाई पाकेको धान भित्र्याउन चटारो छ । बेमौसमी वर्षाले धान भिजाउने र कुहाउने डरले किसानहरू थप श्रमिक डाकेर तथा सामूहिक रूपमा काम गर्दै बाली भित्र्याउन जुटेका छन् ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं. ७ वेत्रावतीका साउने चौधरीले वर्षाले धान भिजाउला भन्ने त्रासका कारण बाहिरबाट चार जना खेताला मगाएर धान भित्र्याउनु भयो ।“पहिले घरकारले मात्रै भित्र्याउथ्यौ”,उहाँले भन्नुभयो“ यस बर्ष बर्षा हुने भनेपछि आजै( बुधबार) भित्र्यायौं ।”
त्यस्तै सोही ठाउँकी किसान टोपीकुमारी पोखरेलले पनि वर्षाको डरले छिटो–छिटो धान भित्र्याउनुभयो । अघिल्लो वर्ष यस्तै मौसमका कारण धान कुहिएर पुनः सुकाउनु र दाम्नु परेको भन्दै उहाँले यसपालि छिटै भित्र्याएको बताउनुभयो ।“पोहोरसाल पानीले धान कुहिएको थियो”,उहाँले भन्नुभयो“यस पटकत नाति–नातिनी, बुहारी, इष्टमित्र र गाउँले गरी १५–१६ जनाको सहयोगमा धान काटेर भित्र्यौं ।”
उहाँहरु मात्रै होईन्, बुधबार दाङका किसानहरुमा धान भित्र्याउने चटारो थियो । धान पाकिसकेको तर, विहीबार देखि बर्षा हुने भएपनि बुधबार नै जसरी पनि धान भित्र्याउने दवावमा किसानहरु थिए।



लाइभदाङ । १३ कार्तिक २०८३, बिहीबार ०९:२० बजे