नगरबासीको हातमा लालपुर्जा थमाउन आतुर छौं : उपप्रमुख योगी

दाङ,६ मंसिर । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले नगरबासीको हातमा जग्गाको लालपुर्जा थमाउन आतुर रहेको बताउनु भयो । बुधबार लमही नगरपालिका -३ वनगाउँको शिवनगर टोलमा भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका व्यक्तिहरुको जग्गा नापजाँच कार्यको शुभारम्भ गर्दै उपप्रमुख योगीले सो कुरा बताउनु भयो ।

“हाम्रो नगरपालिका भित्र भुमिहिन दलित, भुमिहिन सुकुम्बासीहरुलाई जग्गाको लालपुर्जा वितरण गर्नका लागि नापजाँच लगायतका कार्यले तिब्रता पाएको छ, केही समयपछि हामीले उहाँहरुको हातमा लालपुर्जा दिने छौं”- उहाँले भन्नू भयो ।

अहिले हाम्रो भुमि शाखाले सबै वडामा काम सम्पन्न गरि आवश्यक प्रक्रिया अगाडी बढाएको छ, हाम्रा कर्मचारी फिल्डमा खटिएका छन, फिल्डमा खटिएका कर्मचारीलाई सहयोग गर्न पनि उपप्रमुख योगीले सबैमा आग्रह गर्नु भयो । “हामी पनि आतुर छौ हाम्रा नगरबासीको हातमा लालपुर्जा थमाउन” उहाँले भन्नू भयो ।

जुन वडामा नापजाँचको काम सकिएको छ त्यो वडाका काम अगाडी बढाउन जिल्ला भुमि आयोग दाङका भुमिविज्ञ लक्ष्मी चौधरीले सुझाव दिनु भयो । देउखुरीका अन्य पालिका भन्दा लमही नगरपालिकाको काम तिब्र रुपमा अगाडी बढेको बताउनु भयो ।


नापी कार्यालय लमहीका सूचना अधिकारी खीम बहदुर खड्काले नगरपालिकाले थालेको नापजाँचको काममा नापी कार्यालय लमहीको निरन्तर सहयोग रहने बताउनु भयो ।

लमही नगरपालिका -३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले बिवाद उत्पन्न नहुने गरि नापजाँच कार्यलाई सहजीकरण गरिदिन वडा नम्बर ३ का स्थानीयलाई आग्रह गर्नु भयो ।

टोल विकासका अध्यक्ष सुरेन्द्र बहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा नापजाँच कार्यक्रम शुभारम्भ भएको हो भने कार्यक्रमको सहजीकरण शेर बहादुर डिसीले गर्नु भएको थियो ।