
दाङको पहिचान र विकाससँग जोडिएको टरिगाउँ विमानस्थल विगत लामो समयदेखि केवल राजनीतिक दाउपेच र बजेट वक्तव्यको ‘कागजी गफ’ मात्रै बनेको छ। हरेक वर्ष सरकारले बजेट सार्वजनिक गर्दा दाङबासीमा एक किसिमको आशा पलाउँछ, तर आर्थिक वर्षको अन्त्यसम्म पुग्दा त्यो आशा निराशामा परिणत हुन्छ। यस पटकको बजेट वक्तव्यमा पनि टरिगाउँ विमानस्थलको नाम त अटाएको छ, तर त्यसका लागि आवश्यक बजेटको सुनिश्चितता भने अझै हुन सकेको छैन। यो दाङबासीका लागि नयाँ विषय होइन, बरु पुरानै उपेक्षाको निरन्तरता मात्र हो।
टरिगाउँ विमानस्थललाई सधैं गिज्याउने र यहाँका जनताको भावनामाथि खेलबाड गर्ने प्रवृत्ति केन्द्र सरकारको नियति नै बनिसकेको छ। धावनमार्ग विस्तार र स्तरोन्नतिका लागि वर्षौंदेखि माग भइरहँदा पनि राज्यले यसलाई प्राथमिकतामा राख्न नसक्नु लज्जास्पद विषय हो। इन्धन डिपो स्थापना भए पनि ठूला जहाज बस्न नसक्ने प्राविधिक कमजोरी र छोटो धावनमार्गका कारण यहाँको हवाई सेवा भरपर्दो र सुरक्षित हुन सकेको छैन। साना जहाज बस्दा भाडा पनि महंगो हुने, हवाई सेवा पनि अनियमित हुने हुँदा यस क्षेत्रका बिरामी, व्यवसायी र सर्वसाधारणहरु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ ।
बजेटमा नाम मात्रै राख्नु तर कामको लागि पैसा विनियोजन नगर्नु भनेको दाङबासीलाई सधैं भ्रममा राख्ने प्रपञ्च मात्र हो। विडम्बना त के छ भने, दाङले केन्द्रमा प्रभावशाली राजनीतिक नेतृत्व नपाएको पनि होइन। तर, ती नेतृत्वहरूले विमानस्थलको स्थायी समाधानका लागि ठोस पहल गर्नुको साटो यसलाई चुनाव जित्ने र भाषण गर्ने एजेन्डा मात्र बनाए। जबसम्म बजेटमा स्पष्ट अंक र स्रोतको सुनिश्चितता हुँदैन, तबसम्म यस्ता घोषणाको कुनै अर्थ रहँदैन।
अब दाङबासी केवल आश्वासनको भरमा बस्ने पक्षमा छैनन् । टरिगाउँ विमानस्थलको स्तरोन्नति दाङको मात्र नभई समग्र राप्ती क्षेत्रको आर्थिक, सामाजिक र पर्यटकीय विकासको मेरुदण्ड हो। त्यसैले, सरकारले यस पटक नाम मात्रै समावेश गर्ने ‘सस्तो लोकप्रियता’ को नीति त्यागेर तत्काल पर्याप्त बजेट सुनिश्चित गर्नुपर्छ। स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले पनि अब भाषणमा मात्र होइन, बजेट कार्यान्वयन गराउन केन्द्र सरकारमाथि कडा दबाब सिर्जना गर्न जरुरी छ। आश्वासनको रनवेमा धेरै उडान भइसके, अब जमिनमै काम गरेर देखाउने बेला आएको छ।



लाइभदाङ । २२ जेष्ठ २०८३, शुक्रबार ०५:४५ बजे