बेत्रावतीमा स्वास्थ्य शिविर

तुलसीपुर, १२ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिका ७ बेत्रावतीमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । जसमा अधिकांशमा उच्च रक्तचापको समस्या देखिएको छ। तुलसीपुर स्थित पाल्पालि पोलिक्लिनिक प्रालि, जयजीव अभियानको आयोजनामा बुधबार गरिएको शिविरमा १०० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।

शिविरमा सहभागीहरूको मधुमेह सुगर र रक्तचाप परीक्षण गरिएको थियो। पाल्पाली पोलिक्लिनिकका सञ्चालक सुरज ज्ञवालीका अनुसार परीक्षण गराएकामध्ये अधिकांशमा रक्तचापको समस्या पाइएको हो। समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र आर्थिक रूपमा कमजोर नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षणको अवसर प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।


जयजीव अभियानका द्रष्टा उपेन्द्र पौडेलले स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।उनले स्वास्थ्य सेवाको पहुँच कम भएका तथा विकट बस्तीका नागरिकलाई लक्षित गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।