
तुलसीपुर उपमहानगरपालिकाले सञ्चार क्षेत्र व्यवस्थित गर्न सञ्चार कार्यविधि निर्माण प्रक्रिया अघि बढाएको छ। सरोकारवालासँगको छलफलबाट सुरु गरिएको यो प्रयास स्वागतयोग्य छ। लोकतान्त्रिक अभ्यासमा प्रेस स्वतन्त्रता जति महत्वपूर्ण छ, त्यति नै आवश्यक हुन्छ स्पष्ट नीति र संरचना, जसले सञ्चार माध्यमलाई दिगो, मर्यादित र उत्तरदायी बनाउँछ। पालिकाले मस्यौदा तयार पारेर छलफल सुरु गर्नु भनेको नीति निर्माणमा सहभागितामूलक प्रक्रिया अपनाएको देखिन्छ। यसले पारदर्शिता र विश्वास निर्माणमा मद्दत गर्छ।
नीति निर्माणसंगै कार्यान्वयनलाई पनि जोड दिनुपर्छ । नीति बनाउने थालनी गर्नु सजिलो हुन्छ, कार्यान्वयनको मोर्चा कठिन हुन्छ। नेपालमा नीति बनिसकेपछि थन्किने र कहिल्यै व्यवहारमा नआउने प्रवृत्ति रहिआएको छ। त्यसैले कार्यविधि निर्माण समितिले तय गरेको समयसीमा—चालु वर्षभित्र निर्माण र आगामी वर्षदेखि कार्यान्वयन—अनुसार काम अघि बढाउनु जरुरी छ।
सञ्चार कार्यविधिमा पालिकाका सूचना व्यवस्थापन, पत्रकारसँगको समन्वय, विज्ञप्ति र सार्वजनिक जानकारीको प्रवाह, सूचना अधिकारको सुनिश्चितता लगायतका विषय प्रस्ट र व्यवहारिक रूपमा समेटिनु आवश्यक छ। सञ्चारमाध्यमको स्वतन्त्रता कायम राख्दै, सहकार्य र जवाफदेहिता बीच सन्तुलन मिलाउने खालको कार्यविधि हुनुपर्छ।
यस्तो कार्यविधि केवल पालिकाको सूचनाको हकसम्बन्धी जिम्मेवारी पूरा गर्न होइन, समग्र सञ्चार क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन सहयोगी बन्नुपर्छ। यसले पत्रकारिताको आचारसंहिता, स्थानीय सूचना समन्वय र संकट सञ्चार व्यवस्थापनजस्ता पक्षलाई समेत समेट्नु राम्रो हुनेछ। तुलसीपुर उपमहानगरपालिकाको यो प्रयास उदाहरणीय बन्न सक्छ—यदि शब्दहरू व्यवहारमा परिणत भए। अब नीति निर्माणपछि कार्यान्वयनमा ढिलाइ नगरी, सुसंस्कृत र सशक्त सञ्चार अभ्यासतर्फ कदम बढाउन आवश्यक छ। साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ३ असार २०८२, मंगलवार १३:२४ बजे