
दिपक बोहरा
दाङ,२२ जेठ ।
आर्थिक वर्ष २०६८/०६९ को बजेट बक्तब्यदेखि दाङको टरिगाउँ विमानस्थलले बजेटको आश्वासन पाउन थालेको हो । त्यतिबेलादेखि उक्त विमास्थल स्तृरबृद्धिकालागि भनेर अर्थमन्त्रीले संसदमा भाषण गर्न थालेका हुन् । त्यस यताका प्रायः बजेटमा कहिल्यै टरिगाउँ विमानस्थल स्तरबृद्धि, कहिल्यै विस्तार, कहिल्यै क्षमता विस्तार भन्दै बजेट भट्याईयो । तर, अहिलेसम्म पनि त्यो विमानस्थलमा उल्लेख्य बजेट आउन सकेको छैन । २०६८/०६९ मा तत्कालिन पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले एयरपोर्ट कालोपत्रे गर्नकालागि बजेट सुनिश्चित भएपछि कालोपत्रे भयो । त्यतिबेला करिब साढे ८ करोड लागतमा अस्पाल्ट प्रबिधिबाट विमानस्थल कालो पत्रे भएको हो । त्यसपछि २०७८ तिर ५८ लाख लागतमा टर्मिनल भवन बन्यो ।
त्यो बाहेक अन्य बजेट आएको छैन ।
हाल सोही ठाउँमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरिसकेको छ । त्यो सबै खर्च नेपाल आयल निगमको हो । विमानस्थलको जग्गा मात्रै निगमलाई उपलब्ध गराईएको हो । खासगरि टरिगाउँ विमानस्थलको धावन मार्ग विस्तारकालागि बजेट आबश्यक हो । हाल ७५० मिटर लम्बाई भएको धावन मार्ग छ, त्यसलाई बढाएर १५ सय मिटरसम्म बनाउन सकेमा मात्रै ठूला जहाज बस्न सक्छन् । तर, हाल १९ सिटे टुइनेटर मात्रै बस्ने र सानो हावा वा हुस्सु लागेपछि पनि बस्न नसक्ने अबस्था हुन्छ ।
जतिबेला २०६८/०६९ मा बजेट भाषण भयो, त्यसबेला देखि संसदमा टरिगाउँ विमानस्थलले प्रवेश पाएको थियो । त्यसपछि तीन आर्थिक वर्षसम्म बजेट भाषणमा पनि आएन । पुनः २०७५/०७६ मा दाङमा बैकल्पिक विमानस्थलको खोजी गरिने भनेर बजेटमा आयो । बजेट बक्तब्य मै त्यो कुरा आएपछि केही समय टरिगाउँ विमानस्थललाई अलमल पारेको देखिन्छ । ०११ सालदेखि ०४२ सालसम्म नियमित रूपमा विमान सञ्चालनमा भएको एयरपोर्ट त्यो बीचमा नियमति हुन सकेको थिएन । तैपनी कहिल्यै आउने र कहिल्यै नआउने गर्दै २०५८ सालसम्म चल्यो । त्यसपछि कालोपत्रेको काम भयो । कालोपत्रे हुँदा उडान अबरुद्ध नै थियो । कालोपत्रे पश्चात पुनः २०७२ जेठ १४ गते गोमा एयरले उडान सुरु गरेको थियो । तर त्यो एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्न पुगेको थियो।
त्यसपछि तीन बर्षसम्म उडान भएन ।
त्यसकै मौका छोपी दाङमा बैकल्पिक बिमानस्थलको बहस थालियो । त्यति मात्रै होइन्, २०७५/०७६ को बजेटमै जिल्लामा बैकल्पिक विमानस्थलको खोजी गर्ने भनि बजेट आयो । त्यसकै जगमा २०७७/०७८ र ७८/०७९ मा नारायणपुरमा अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउने भनि बजेट समेत बिनियोजन गरियो । तर, पनि बैकल्पिक विमानस्थलको खोजी हुन थालेपछि तुलसीपुर उपमहानगर–पालिका र यस क्षेत्रका ब्यबसायीको पहलमा ०७५ सालदेखि पुनः हवाई उडान सुरु भयो । त्यो बीचमा पनि निकै उतारचडाप भयो । तुलसीपुुर क्षेत्रका अगुवाहरुले नारायणपुरमा विमानस्थल स्थानान्तरण गर्ने खालको सुईको पाएपछि ब्यापक दवाव दिन थाले । त्यसपछि पुनः २०८० देखि पुनः टरिगाउँ एयरपोर्टमा बजेट हाल्ने भनेर बक्तब्यमा सुनाउन थालियो तर, बजेट भने पठाईएन ।
आबश्यकता धावन मार्ग विस्तार
खासगरि टरिगाउँ एयरपोर्टमा धावनमार्ग विस्तार आबश्यक हो । हाल ७ सय ५० मिटर लम्बार भएको धावन मार्ग छ, त्यो पनि उत्तर–दक्षिण तर्फ फर्किएको । त्यसलाई विस्तार गरेर १५ सय मिटरसम्मको धावन मार्ग विस्तार भएमा ७२ सिटेसम्म जहाज बस्न सक्छन् । त्यसकालागि जग्गा अधिग्रहण गर्नुपर्छ । जग्गा अधिग्रहण गर्न र विमानस्थल विस्तार गर्न मात्रै अरबौं बजेट चाहिन्छ । तर, गएको २०८१/०८२ मा एक करोड मात्रै बजेट पर्यटन मन्त्रालयले छुट्याएको थियो । त्यो बजेट कामै नलागि फ्रिज भयो । चालु वर्षमा पनि बजेट सुनिश्चित भएको छैन । तर, बहुबर्षिय बनाउन बाटो खुलेको दाङ क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले बताए । यद्यपी त्यसकालागि पनि बजेट सुनिश्चित भएर एयरपोर्ट विस्तारकोकाममा ठेक्का लागेको हुनुपर्छ ।
उडान अनिश्चित
हाल नेपाल एयरलाईन्सले टरिगाउँमा उडान भरिरहेको छ । तर, पनि निश्चित छैन । सानो हावा लाग्यो भने पनि उडान हुँदेैन । बादल वा हुस्सु लाग्यो भने पनि समस्या त्यस्तै हुन्छ । हाल हप्तामा चार दिन भनिएपनि महिनामा दुई दिन जसो मात्रै उडान हुने गरेको एयरलाईन्सका दाङ शाखा प्रमुख बलबहादुर सुनारले बताए ।



लाइभदाङ । २२ जेष्ठ २०८३, शुक्रबार ०५:३९ बजे