एमसीसीले परीक्षण गर्दैछ धानखोला–लमही सडकमा‘फूल–डेप्थ रिक्लेमेशन’ प्रबिधि

दीपक बोहरा
दाङ, १६ वैशाख ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)ले दाङको धानखोला–लमही सडक खण्डमा काम सुरु गरेको छ । जुन एमसीसीले नेपालमा सडक क्षेत्रमा सुरुवात गरेको पहिलो काम हो । अहिलेसम्म एमसीसीले नेपालमा सडकमा काम सुरुवात गरेको छैन ।

पहिलो पटक बुधबारदेखि दाङको धानखोलादेखि लमहीसम्मको सडक स्तरोन्नतीको काम सुरु गरेको छ । एमसीसीले नेपालमा दुई वटा सडकमा पाइलटिङ प्रोजेक्टका रुपमा काम गरिरहेको छ । एउटा धानखोला–लमही सडक र अर्को मुग्लिङ–नारायणघट सडक । जसमा नेपालमा पहिलो पटक ‘फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रबिधि’बाट सडक कालोपत्रे हुनेछ ।

फुल डेप्थ रिक्लेमेशन भनेको पुरानो विग्रिएको सडकलाई पुरै गहिराईसम्म खोतलेर त्यहाँ सामग्रीलाई पुनः प्रयोग गरि नयाँ वेश बनाईन्छ, भने सुपरपेभ प्रबिधि भनेको मौसम अनुसार सडक डिजाईन गर्ने कार्य हो ।


जसले गर्दा सडक मजवुत हुने र सडक बीचमा अग्लो, होचो नहुँने अबस्था हुने परियोजना कार्यान्वयन संस्था मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल(एमसीए)का कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले बताए। उनका अनुसार यो प्रबिधि नेपालमा पहिलो पटक परीक्षण हुन लागेको हो । यो परीक्षण पूरा भएमा अन्यत्र पनि लागु गर्ने गरि काम अगाडी बढ्ने उनको भनाई छ ।

हाल धानखोला–लमही सडकको ४० किलोमिटर क्षेत्रमा उक्त प्रबिधिबाट स्तरबृद्धि हुनेछ । हाल ७ मिटर रहेको उक्त सडकलाई स्तरबृद्धि गरेर १२ मिटर बनाईनेछ । जसमा सात मिटर चौडा क्यारिजवे र दुबै तर्फ साढे २ मिटर चौडा सोल्जर निर्माण हुनेछ ।

दुई करोड अमेरिकी डलर(नेपाली करिब ३ अर्ब) लागतमा उक्त काम हुनेछ । जुन कामकालागि गएको बर्ष पुस ७ गते सम्झौता भएको थियो । निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले पाएको हो । जुन नेपाली कम्पनी हुन् ।

सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।