लुम्बिनीमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् नौ सदस्यीय

दाङ, ८ पुष ।
लुम्बिनी प्रदेश सरकारमा दुईजना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार माओवादीका कृष्णा केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र कांग्रेसका सरोज थापा उद्योग तथा यातायात ब्यबस्था मन्त्रीमा नियुक्त गरेका हुन् । केसी र थापालाई आइतबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालय मन्त्री पदको शपथग्रहण गराउने कार्यक्रम छ ।

यसअघि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न भनिए पनि कांग्रेसभित्र सहमति जुट्न नसक्दा रोकिएको थियो । तर, अन्ततः संस्थापन पक्षका थापा मन्त्री बनेका हुन् ।


सात महिनाअघि गठन भएको प्रदेश सरकारमा यसअघि ६ मन्त्री मात्र थिए । चौधरी १४ वैशाखमा मुख्यमन्त्री बनेका थिए । हाल आएर दुई मन्त्री थप्दा पनि वन तथा वातावरण मन्त्रालय खाली छ । तर, वन मन्त्रालय मुख्यमन्त्री चौधरीले राख्ने तय भएको लुम्बिनीका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।