
दीपक बोहरा
तुलसीपुर, ८ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.३ स्थित नमुना महिला सामुदायिक बनमा सालका रुखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रुखहरु डडेला लागेका जस्ता देखिने गरेका छन् । २ सय ६० हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक बनका करिब १० प्रतिशत सालहरु पातविनाका छन् । त्यस्तै बबई गाउँपालिकाको पुरन्धारा, दंगीशरण गाउँपालिकाका केही सामुदायिक बनमा पनि सालका रुपमा यस्तै समस्या देखिएको छ ।
पछिल्लो बर्ष दाङका सामुदायिक बनमा सालहरु यसरी सुकेको जस्तो देखिदा स्थानीयहरु चिन्तित छन् ।“विगतका बर्षहरुमा यस्तो समस्या थिएन, यस बर्ष बनका सालका रुखहरु सुकेका जस्ता छन्”,तुलसीपुर ३ का वडाध्यक्ष विरबहादुर विकले भन्नुभयो“यसले हामीलाई चिन्तित बनाएको छ ।”
यस बर्ष सामुदायिक बनका रुखहरुमा यस्तो महामारी देखिएको डिभिजन बन कार्यालय दाङका बरिष्ठ बन अधिकृत भक्तबहादुर चौधरीले बताउनुभयो ।“दाङका बनहरुमा सालका रुखमा यस्तो महामारी देखिएको छ”,उहाँले भन्नुभयो“ रुखहरु डडेलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठीन पनि छ ।”
उहाँका अनुसार ‘मथ’ पुतलीले पात खाईदिदा सालका रुखहरुमा यो समस्या आएको हो । यसले रुखलाई पनि असर गर्ने उहाँको भनाई छ । “ अहिले नै चैत बैशाख झै पात झरेको जस्तो देखिएका छन्,पानी प¥यो भने त पलाउछ”,उहाँले भन्नुभयो“पटक–पटक यस्तै भइरह्यो भने साना रुखहरु सुक्छन्, ठूला रुखहरुमा पनि बृद्धिमा ह्रास आउछ ।”
महामारीका रुपमा यो समस्या देखिएपनि जिल्लाले केही गर्न नसक्ने समेत उहाँले बताउनुभयो । समस्या समाधानकालागि विभागमा चिठि पठाएको भएपनि त्यसको कुनै प्रतिक्रिया नआएको समेत अधिकृत चौधरीको भनाई छ ।“जिल्लाले नियन्त्रण गर्न सक्ने अबस्था छैन, हामीसंग त्यस्तो विज्ञता, क्षमता, साधन स्रोत पनि छैन”,उहाँले भन्नुभयो“विभागमा चिठि लेखेर पठाएका छौं, त्यहाँबाट पनि केही प्रतिक्रिया आएको छैन ।”
यसलाई नियन्त्रण गर्न समस्या पनि रहेको उहाँको भनाई छ। एउटा पुतलीले एकै दिनमा तीनसय जति फुल पार्ने र त्यसबाटै दिनानुदिन बढ्दै जाने भएकाले पनि नियन्त्रण भन्दा बाहिर रहेको समेत अधिकृत चौधरीले बताउनुभयो । उहाँका अनुसार ड्रोन वा हेलिकप्टरबाट औषधी छर्किएपनि त्यसले अन्य पशुपंक्षी तथा जनावरहरुलाई समेत असर गर्छ, भने वरिपरिको मानव बस्तिमा पनि असर गर्ने भएकाले नियन्त्रणमा समस्या रहेको उहाँको भनाई छ । जलवायु परिबर्तनको एउटा असरका रुपमा यसलाई लिन सकने समेत अधिकृत चौधरीको भनाई छ ।
यस अघि नारायणपुर क्षेत्रको बनमा पनि यस्तै समस्या देखिएपनि पछि विस्तारै हराउँदै गएकाले यो पनि हराउन सक्ने उहाँको विश्वास छ । अधिकृत चौधरीका अनुसार जिल्लामा अहिले १५÷२० वटा सामुदायिक बनको हजारौं हेक्टरमा यस्तो समस्या देखिएको छ । दाङमा दुई लाख हेक्टर बन क्षेत्रफल रहेको छ । ति मध्ये सघन बन क्षेत्र १ लाख ९२ हजार ६ सय ८२ रहेको छ, भने बुट्यान क्षेत्र ८ हजार ४३ रहेको छ ।
जल्लामा ३ सय ६९ सामुदायिक बन रहेका छन् । जसबाट ८० हजारको हाराहारीका घरधुरी लाभाम्बित छन् । दाङमा ६ वटा धार्मिक बन पनि रहेका छन् । जुन एकसय ५३ हेक्टर क्षेत्रफलमा छ । त्यस्तै जिल्लामा २ सय ४० वटा निजि बन छन् । जुन एकसय १२ हेक्टर क्षेत्रफलमा छ ।



लाइभदाङ । ९ माघ २०८२, बिहीबार ०७:३७ बजे