
घोराही, ०८ मंसिर ।
घोराही उपमहानगरपालिका–७ सौडियारस्थित श्री माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएपछि आवतजावतमा सहजता ल्याउन थप स्कुल बस सञ्चालन गर्ने गरि पहल गर्ने भएको छ।
विद्यालयमा हाल एउटा मात्रै स्कुल बस सञ्चालनमा रहेकाले विद्यार्थीको चापअनुसार बस खचाखच भरिने र विद्यार्थीलाई आवतजावतमा समस्या हुने गरेको छ। उक्त समस्यालाई मध्यनजर गर्दै विद्यालयमा थप स्कुल बसको व्यवस्था गर्ने निर्णयसहित आवश्यक पहल अघि बढाइएको हो।
विद्यालय व्यवस्थापन समितिको पहलअनुसार मावि सौडियारका निवर्तमान प्रधानाध्यापक नन्द वली र सहायक प्रधानाध्यापक नरेश पौडेलले बस थप गर्ने प्रक्रियाका लागि सम्झौता गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी बुढाले जानकारी दिनुभयो।
यसअघि भारतीय दूतावासले विद्यालयलाई अनुदानस्वरूप एउटा स्कुल बस उपलब्ध गराएको थियो। विद्यार्थीको बढ्दो सङ्ख्या र यातायातको आवश्यकतालाई ध्यानमा राख्दै थप बसको व्यवस्था गर्न लागिएको विद्यालयले जनाएको छ।
थप बस सञ्चालनमा आएपछि विद्यार्थीलाई विद्यालय आवतजावत गर्न सहज हुनुका साथै सुरक्षित र व्यवस्थित यातायात सेवामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।



लाइभदाङ । ९ मंसिर २०८३, मंगलवार २१:१० बजे