एमाले महासचिब पोख्रेलको टिप्पनी: ग्रेटर नेपाल भन्ने, भारतसंग सीमाकै कुरा नगर्ने ?

दीपक बोहरा
दाङ, ८ मंसिर ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हालै भारत भ्रमण सकेर फर्केका प्रधानमन्त्री बालेन शाहले नेपालका आधारभूत राष्ट्रिय सरोकार, सीमा सुरक्षा र व्यापारिक समस्याका एजेन्डा उठाउन नसकेको टिप्पनी गरे । प्रेस चौतारी नेपाल दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भ्रमणका क्रममा राष्ट्रिय सम्मान र कूटनीतिक मर्यादा कायम गराउने विषयमा समेत गम्भीर कमजोरी देखा परेको बताए । ‘कम्तिमा अहिले १८१६ को सुगौली सन्धिले निर्धारित गरेको सीमाको रक्षा गर्ने कुरा प्रधानमन्त्रीका तर्फबाट पहल हुनुपथ्योें, तर त्यो कुरा छलफलमा प्रवेशै गरेन’,उनले भने‘ एउटा प्रधानमन्त्रीका रूपमा आफ्नै कन्सर्नहरूलाई उहाँले जुन रूपमा प्रस्तुत गर्नुपथ्र्यो, त्यसमा उहाँ चुक्नुभएको देखिन्छ ।’

नेपाल–भारत सम्बन्धलाई नयाँ धरातलमा परिभाषित गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन थन्क्याइएको समेत उनले बताए । इपिजीको रिपोर्ट नेपाल–भारत सम्बन्धलाई आजको धरातलमा समान ढंगले उभ्याउने महत्वपूर्ण दस्तावेज रहेको भन्दै त्यो दस्तावेजलाई वैधानिकता दिने र सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने कुरामा प्रधानमन्त्रीको ध्यान जान नसकेको समेत उनले बताए ।

भारतीय बजारमा नेपाली कृषि तथा औद्योगिक उत्पादनको सहज पहुँच नभएको भन्दै यस तर्फ पनि ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेको समेत महासचिब पोख्रेलको भनाई थियो । ‘बेलाबखत नेपाली चिया, अलैँची र नेपालमा उत्पादन भएका बेमौसमी तरकारीहरू भारतीय बजारमा प्रवेश गर्न नपाउने समस्या छ’,उनले भने‘ नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने हो भने नेपालको उत्पादनको बजार खोज्ने कुरा प्राथमिकताको विषय हो, तर सरकार त्यसमा चुकेको छ ।


यस्तै, महासचिव पोखरेलले तोकिएकै समय स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने बताए । दुवै तहका निर्वाचन एकैपटक गर्ने नाममा स्थानीय तहलाई कमजोर बनाउने खेल भइरहेको समेत उनको भनाई थियो । स्थानीय तहको कार्यकाल आगामी जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए ।

प्रदेशको निर्वाचन आगामी मंसीरमा हुने स्थितिमा ६ महीनासम्म स्थानीय तहलाई जनप्रतिनिधिविहीन राख्ने कुरा स्वीकार्य हुन नसक्ने र यसले राष्ट्रिय सभा तथा राष्ट्रपतिको निर्वाचनसमेत प्रभावित हुने पोखरेलले उल्लेख गरे ।

वामपन्थी राजनीतिक तालमेलका सम्बन्धमा बोल्दै महासचिव पोखरेलले एमालेसँग तालमेल गर्दा तत्कािलन माओवादीले ३६ सिट जितेको र कांग्रेससँग गर्दा १८ सिटमा झरेको विगतको परिणामबाट पाठ सिक्दै कम्युनिस्ट पार्टीहरुमा एमालेसँग सहकार्य गर्नुपर्छ भन्ने चेत पलाउनु सकारात्मक भएको बताए । स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्न सकिने नीतिगत पक्षमा एमाले रहे पनि यस विषयमा अन्तिम निष्कर्षमा नपुगिएको उनले प्रष्ट पारे । लोकतन्त्रका लागि लडेका पुराना दलहरूले जनताको विश्वास जित्न रूपान्तरित हुनुपर्ने र एमालेभित्र कुनै विभाजन नभई पार्टी सुधारका लागि आन्तरिक छलफल जारी रहेको उनले  बताए ।