
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका सटरहरुको म्याद सकिइसकेको छ । गएको असार मसान्तमै अस्पतालको सटरहरुको म्याद सकिएपनि ति सटरहरुको टेन्डर हुन सकेको छैन । पटक–पटक अस्पताल विकास समितिले निर्णय समेत गरिसकेको छ, भने सटर खाली गर्न सूचना समेत जारी गरिकेको छ । तर, सटरमा बसेकाहरुले सटर छोड्न मानिरहेका छैनन् । किनकी सटरको भाडा न्यून छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. पदमराज अधिकारीले सटरको टेन्डर गर्न खोज्दा उनले नै राजीनामा दिनुपर्ने अवस्था थियो । उनले केही दिन अघि भएको बार्षिक समीक्षा कार्यक्रममै पनि त्यो दुखेसो पोखेका थिए । सिस्टम भन्दा पनि शक्ति र सत्ताले अस्पताल चलाएको तर्फ उनको संकेत थियो । सटरको टेन्डर गर्न खोज्दा पनि यहाँका राजनीतिक दलहरुको हस्तक्षपले निकै नै असर गरिरहेको छ ।
अस्पताल भनेको सम्वेदनशील क्षेत्र हो । जहाँ विरामीहरुको सहज सेवा सुविधा हुनुपर्छ, त्यसकालागि चिकित्सकहरुलाई त्यो खालको वातावरण तयार गर्नुपर्छ, त्यो अझै पनि हुन सकेको छैन । चिकित्सक हरेक ब्यक्तीसंग डराई–डराई काम गर्नुपर्ने अवस्था छ । यसले गर्दा डाक्टरहरु मनोबैज्ञानिक रुपमा असर गरिरहेको हुन्छ । अर्कोतर्फ राम्रो काम गर्नै खोज्दा विभिन्न क्षेत्रबाट आउने हस्तक्षपले झनै असर गरिरहेको छ, भन्ने सटरहरुकै टेन्डरबाट प्रष्ट हुन्छ । हामी सबैले बिधिकै शाषणको वकालत गर्ने हो । सार्वजनिक सम्पतिलाई कुनै ब्यक्ती बिशेषका आधारमा पोस्ने कुरा गलत हो । सटरहरु टेन्डर भएमा अहिले बसेकैहरुले पनि प्राप्त गर्न सक्छन् । बाहिरबाट पनि आउन सक्छन्, त्यो त सबैको अधिकारको विषय पनि हो ।
अहिले जसरी टेन्डर नहुँदा न्यून भाडामा सटरहरु गएका छन् । त्यसले गर्दा अस्पतालका लाखौंको आम्दानीको स्रोतहरु गुमेका छन् । अस्पताल भित्रको सामग्री विग्रिएमा मर्मत गर्न सक्ने समेत अवस्था नभएको अवस्थामा अस्पतालको आम्दानी तर्फ ध्यान नदिनु गलत हो । यस्तै कुराहरुले गर्दा नै मानिशमा वितृष्णा पैदा भइरहेको हुन्छ । समाजमा यस्तै कार्यले नै नकारात्मक छाप बनाइरहेको हुन्छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १९ कार्तिक २०८२, मंगलवार ०९:२० बजे