
घोराही–तुलसीपुर चारलेन निर्माणको विषय फेरि पनि चर्चामा आएको छ । मदन भण्डारी राजमार्ग निर्देशनालयले पुनः ठेक्का प्रक्रिया अगाडी बढाएपछि यसको चर्चा चुलिएको हो । यो दाङको मुख्य सडक पनि हो । घोराही र तुलसीपुरलाई जोड्ने मुख्य सडक भएकाले पनि यो सडकका बारेमा धेरै चासो हुने गर्छ । पछिल्लो समय सवारी साधनको चाप बढिरहेको अबस्थामा चारलेन बनाउनु अपरिहार्य पनि छ । तर, यो सडक राजनीति गर्ने थलो मात्रै बन्ने गरेको छ । यही सडकलाई लिएर धेरै नेतालाई राजनीति गर्ने खुराक बन्ने गर्छ । त्यति मात्रै हाईन्, आफू वा आफ्नो पार्टी सरकारमा नहुँदा सोही सडक निर्माणका काममा अवरोध गर्ने र आफू वा आफ्नो पार्टी सरकारमा गएपछि पहल लिए जस्तो गर्ने प्रबृति पनि हावी भएको छ ।
यो सडक चारलेन बनाउन अपरिहार्य नै छ । सडक साँघुँरो हुँदा आवतजावतमा निकै असहज हुने गरेको छ । दिनानुदिन दुर्घटनाहरु बढिरहेका छन् । अझ विगतमा चारलेन बनाउने क्रममा सडकबीचमै अलपत्र पारियो । त्यसले गर्दा बीच–बीचमा खाल्डाखुल्डी छन् । ति खाल्डाखुल्डीले गर्दा पनि दुर्घटनाको जोखिम निकै बढाएको अबस्था छ ।
अहिले पनि चारलेन बन्ने वा नबन्ने भन्ने कुरा अन्यौल छ । विगतमा भारतीय एक्जिम बैंकको सहयोगमा उक्त सडक निर्माणको काम सुरु भएपनि ५÷६ बर्षसम्म पनि अलपत्र भयो । अहिले पनि त्यस्तै हुने त होईन्, भन्ने शंका पनि उत्पन्न भएको छ । अहिले नेपाल सरकारको ३ अर्ब ९० करोड लागतमा उक्त सडक निर्माण हुने छ । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हात्तिखौवासम्म २१ किलोमिटर सडकमा ३० मिटर चौडाई भएको सडक बनाउने भनि टेन्डर आह्वान भएपनिबीचमा अलपत्र हुने हो की भन्ने शंका सबैमा छ । बीच–बीचमा सरकार फेरिइरहने र सरकार फेरिदा अहिले पहल लिनेहरुले नै असहयोग गर्ने जस्ता कुराहरुले पनि निर्धारण गर्ने भएकाले यस्ता कुरामा ख्याल गर्नुपर्ने अबस्था आएको छ । अहिले पनि सडक अलपत्र पर्ने अबस्था आएमा विगतजस्तो जनता सहनसिल हुने अबस्था रहदैन । त्यसैले यस्ता कुराहरुमा ध्यान दिनुपर्छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ७ फाल्गुन २०८१, बुधबार ०८:२२ बजे