स्वास्थ्य क्षेत्रलाई नियमन गरौं

स्वास्थ्य संवेदनशील विषय हो । मान्छे जब विरामी हुन्छ्, स्वास्थ्य संस्थालाई ‘भगवान’ सरह मान्छ र उपचारकालागि जान्छ । विरामी भएमा जाने ठाउँ भनेकै स्वास्थ्य संस्था हो । तर, ति स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसार चलिरहेका छन्, वा छैनन् । उनीहरुले दिने सेवा कत्तिको गुणस्तर छ, भन्ने कुरामा कुनै पनि निकायले चासो दिएको देखिदैन् । औषधी ब्यबस्था विभागले कहिलेकाही अनुगमन गर्छ, त्यो पनि कर्माकाण्डी । त्यो अनुगमनले कुनै प्रभाब पारेको देखिदैन् । स्थानीय तहले पनि आफूले पाएको अधिकार क्षेत्र भित्र रही अनुगमन गर्न सकेको छैन । कुनै पनि निकायको अनुगमन प्रभाबकारी नहुँदा स्वास्थ्य संस्थाहरु मनोमानि रुपमा चलिरहेको छन् ।

एउटाको नाममा फार्मेशी सञ्चालन हुन्छ, अर्कोले औषधी बेचिरहेको हुन्छ । एकै स्थानमा आयुर्वेदिक र एलोपेथिक औषधी राखिएको हुन्छ । दक्षता विना औषधी लेख्ने कार्य भइरहेको हुन्छ । यसले विरामीलाई पक्कै पनि नकारात्मक असर परिरहेको हुन्छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा यसरी खेलवाड हुनु राम्रो कुरा होइन् । तर, पनि सबै भन्दा बेथिति स्वास्थ्य क्षेत्रमै देखिएका छन् । जिल्लाका अधिकांस स्वास्थ्य संस्थाको अबस्था यस्तै देखिन्छ । त्यसैले यसको नियमन गर्न राज्यले विशेष ध्यान दिन जरुरी हुन्छ ।


सबै भन्दा समस्याका रुपमा देखिएको भनेको अनुगमनको पाटो नै हो । स्थानीय तहले पनि आफूले कसरी अनुगमन गर्ने भन्ने कुरामा अन्योल देखिन्छ । स्थानीय तहलाई क्लिनिक र १५ बेडको अस्पतालसम्मको अधिकार छ । तर, बेड नै राख्न नपाउने पोलिक्लिनिकलाई नियमन गर्ने अधिकार दिएको छैन । औषधी ब्यबस्था विभाग अनुगमन गर्न आउछ, तर, आर्थिक प्रलोभनमा पर्ने गरेको भनि सार्वजनिक कार्यक्रममै गुनासो आउछन् । यसले गर्दा पनि औषधी ब्यबस्था विभागको अनुगमनमा पनि प्रश्न चिन्ह उठ्ने गरेको छ । ऐनमा पनि दोहोरो अर्थ लाग्ने यस्ता त्रुटीहरु छन् । विरामी जाँच गरेर औषधी लेख्ने योग्यताका स्वास्थ्यकर्मी तथा डाक्टरले पनि फार्मेशीबाट औषधी वितरण गर्न पाउने अबस्था छैन ।

कानुनले यस्ता ब्यबस्था गरेको छ, यी ब्यबस्थाहरुलाई सुधार गर्नुपर्छ नै । तर, विद्यमान कानुनलाई परिपालना गर्नु सबैको दायित्व रहन्छ । पछिल्लो समय अघि औषधी ब्यबसायी संघले यो विषयमा गम्भीर चासो देखाएको छ । सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया गरिरहेको छ । संघले देखाएको चासो एउटा कार्यक्रममा मात्रै सीमित नहोस्, औषधी पसलहरुलाई ब्यबस्थित, मर्यादित र गुणस्तर बनाउन भूमिका खेलोस् । अनि मात्रै स्वास्थ्य क्षेत्रमा सुधार हुने देखिन्छ । साभारः अग्रिम साप्ताहिक