
दाङ, १७ कात्तिक ।
लुम्बिनी प्रदेशसभा अन्तर्गत प्रदेश मामिला तथा कानुन समितिले प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधा कटौती गर्न दिएको सङ्घीय सरकारको निर्देशन कार्यान्वयन नगर्न प्रदेश सरकारलाई सुझाव दिएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख र मन्त्रीहरूले पनि तीनजना मात्रै सचिवालय सदस्य राख्न पाउने व्यवस्था गरी सोहीअनुसार कार्यान्वयन गर्न निर्देशन गरेको थियो ।
सङ्घले गरेको निर्णयपछि लुम्बिनीमा गत दुई महिनादेखि स्वकीयहरूको सेवासुविधा रोकिएको छ । प्रदेशसभाअन्तर्गत आज बसेको कानुन समितिको छलफलमा पदाधिकारी र स्वकीयहरूको सेवासुविधामा कुनै अवरोध नगर्न निर्देशन दिने निर्णय गरेको छ । प्रदेश मामिला तथा कानुन समितिको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पठाइएको पत्र अध्ययन गरेपछि आजको छलफलबाट यस्तो निर्णय गरेको हो ।
संविधानको धारा १८७ अनुसार प्रदेशसभाको विशेषाधिकारमा हनन नगर्न अनुरोध गरिएको छ । साथै, नेपालको संविधानको धारा १९६ बमोजिम प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक सुविधासम्बन्धी ऐन २०७५ अनुसार प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने सुविधाबाहेकको खर्च कटौती हुने गरी सङ्घीय सरकारको निर्देशन कार्यान्वयन गर्न सरकारलाई समितिले सुझाव दिएको छ ।



लाइभदाङ । १८ कार्तिक २०८२, सोमबार २०:५४ बजे