
तुल बहादुर कवँर मगर
सिसहनियाँ, ११ कार्तिक ।
दाङको राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रमा सञ्चालित होटलहरूको रात्रिकालीन छड्के अनुगमन गरेको छ।अनुगमनका क्रममा केही होटलमा सुधार देखिए पनि केही होटलमा अझै सुधार गर्नुपर्ने अवस्था पाइएको छ।
राप्ती गाउँपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको संयुक्त टोलीले बुधबार राति लामो दूरीका यात्रुले खाना खाने होटलहरूको अनुगमन गरेको हो।
उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने तथा होटलको सरसफाइ र सेवा प्रवाहको अवस्था सुधार गर्ने उद्देश्यले अनुगमन गरिएको हो। अनुगमनका क्रममा राप्ती गाउँपालिका–५ पहरुवास्थित लुम्बिनी होटल र वडा नम्बर ३ मसुरियास्थित जय दुर्गादेवी होटलमा सुधार देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले जानकारी दिनुभयो।
त्यस्तै, वडा नम्बर ८ बिजौरीस्थित कर्णाली होटल र वडा नम्बर ३ मसुरियास्थित पूर्वपश्चिम हाईवे होटलमा भने अझै सुधार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।
अनुगमन टोलीले होटलको भौतिक संरचना, सरसफाइ, खाद्य वस्तुको म्याद तथा गुणस्तर, खाद्य सामग्रीको भण्डारण, मूल्यसूचीको व्यवस्था र होटलको दर्ता तथा नवीकरणको अवस्थालगायतका विषयमा निरीक्षण गरेको थियो।
विशेषगरी लामो दूरीका यात्रुले राजमार्ग क्षेत्रका होटलमा खाना खाने भएकाले खाद्य पदार्थको गुणस्तर र सरसफाइमा विशेष ध्यान दिनुपर्ने अनुगमन टोलीले जनाएको छ।
होटलमा उपलब्ध खाद्य वस्तुको गुणस्तरमा लापरबाही हुँदा उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले नियमित अनुगमन आवश्यक रहेको टोलीको जोड छ।
राप्ती गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर राजमार्ग क्षेत्रमा सञ्चालित होटलहरूको अनुगमन गरिएको बताउनुभयो। उहाँका अनुसार होटलमा उपलब्ध खाद्य वस्तुको गुणस्तर, सरसफाइ र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिँदै आवश्यक सुधारका लागि सुझाव दिइएको छ।
अनुगमनका क्रममा सरसफाइ तथा अन्य पक्षमा कमजोरी देखिएका होटल सञ्चालकलाई तत्काल सुधार गर्न आवश्यक सल्लाह तथा सुझाव दिइएको कार्यालय प्रमुख बरालले बताउनुभयो। उहाँले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन तथा होटल सञ्चालनसम्बन्धी मापदण्ड पालना गर्न सञ्चालकहरूलाई निर्देशन दिइएको जानकारी दिनुभयो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालको नेतृत्वको अनुगमन टोलीमा गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक सुदर्शन गोसाई, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक पोषणराज शर्मा,नारायण न्यौपाने, पत्रकार सन्तोषकुमार गुप्तालगायत इलाका प्रहरी कार्यालय सिसहनियाँ र प्रहरी चौकी मसुरियाका प्रहरीहरूको सहभागीता रहेको थियो ।
राप्ती गाउँपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरसँगको समन्वयमा समयसमयमा होटलहरूको छड्के अनुगमन गर्दै आएको छ। यस्ता अनुगमनले होटल सञ्चालकलाई खाद्य स्वच्छता र सरसफाइप्रति जिम्मेवार बनाउनुका साथै उपभोक्ताको स्वास्थ्य संरक्षण र गुणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।



लाइभदाङ । १२ कार्तिक २०८३, बुधबार २१:३१ बजे