
दीपक बोहरा
दाङ, ३ असार ।
दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणकालागि दिवा/बन्दन भगवती जेभी बत्तिसपुतली काठमाडौंले सबै भन्दा कम रकम कबुल गरेको छ । ३ अर्ब ९९ करोडको ठेक्का आह्वान गरिएकोमा २ अर्ब ५२ करोड ३७ लाख २ हजार तीन सय ७८ रुपैँया कबल गरेको छ ।यो अन्य तीन वटा कम्पनी भन्दा कम रकम कबुल हो ।
सोमबार प्राबिधिक प्रस्ताब खोलिएसंगै अब आर्थिक प्रस्ताबमाथि मूल्यांकन हुन बाँकी छ । कुनै त्रुटी नभएमा दिवा बन्दनाले नै ठेक्का पाउनेछ ।
तर, यसको प्रक्रिया भने अझै दुई हप्ता लाग्नेछ । आर्थिक प्रस्ताब पनि पारीत भएमा त्यो विभागमा जान्छ र ७ दिने सूचना निकालेर सम्झौता आह्वान गर्छ । सम्झौता पछि काम सुरु हुनेछ ।
आवेदन भने रौतह÷खानी जेभी प्राइभेट लिमिटेड त्रियुगा नगरपालिका उदयपुर, लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, महाराजगञ्ज काठमाडौं, आशिस निर्माण सेवा प्रालि, भक्तपुर–१० चितवनले हालेका थिए । तर, उनीहरुले बढि रकम कबुल गरेका थिए । घटीघटाउमा जसले कम रकम कबुल गर्छ, उसैलाई ठेक्का पर्ने सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर विष्टले बताए ।
अहिले ठेक्का आह्वानको सबै काम मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले गरिहेको छ ।सम्झौता पछि भने जिल्लामा आउन सक्ने उनी बताउछन् ।“बाहिरबाट हेर्न सक्ने अबस्था रहदैन”,उनले भने“सडक डिभिजन कार्यालय दाङले नै हेर्ने गरि दिन्छ होला, यसो हुँदा अनुगमन, मूल्यांकन गर्न पनि सजिलो हुन्छ ।”
तुलसीपुरको हात्तिखौवादेखि घोराहीको डिके पेट्रोलसम्मसम्म २१ किलोमिटर सडक चारलेन हुनेहो । जसमा विविएम र अस्पाल्ट प्रबिधिबाट कालोपत्रे हुनेछ । फागुन १ गते टेन्डर आह्वान भएको थियो । तर, टेन्डर आह्वान भएपनि त्यसको प्रक्रिया भने अघि बढ्न सकेको थिएन । सम्झौता भएपछि ३ बर्षमा काम सक्नु पर्नेछ ।
यसअघि यो सडक स्तरोन्नतिको काम २०७५ पुस १३ गतेबाट काम सुरू गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले ठेक्का पाएको थियो। सम्झौतामा ३० महिनाभित्र सडक विस्तारको काम सक्नुपर्ने भएपनि ६ वर्षसम्म जम्मा १० प्रतिशत मात्रै काम गरेकाले ठेक्का रद्द भएको थियो ।




लाइभदाङ । ३ असार २०८२, मंगलवार ११:४९ बजे