
तुलसीपुर, १५ भदौ । दाङ तुलसीपुरका एक होटेल ब्यबसायीलाई राति ९ बजे होटेल खोलेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले हतकडी लगाएपछि यस क्षेत्रका ब्यबसायी आक्रोसित छन् । राति ९ बजे ग्रहाक आएपछि होटेल खोलिएको भएपनि प्रहरीले ठूलै अपराध गरे जसरी हतकडी लगाउनु भनेको प्रहरीको ज्यादती भएको होटल ब्यबसायीको ठहर छ । सोही क्रममा अहिले तुलसीपुर होटल ब्यबसायी समितिले सम्बन्धित निकायलाई झकझक्याउने कार्य गरिरहेको छ ।
सरकारको नीति, नियमभित्र रहेर व्यवसाय गर्दा पनि प्रहरीले अनावश्यकरुपमा दुख दिएको भन्दै आईतबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई भेटेर व्यवसाय सहजरुपमा गर्ने वातावरण बनाउनका लागि ध्यानाकर्षण गराएको छ ।
तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले नगरप्रमुख खड्कालाई ध्यानाकर्षणपत्र बुझाएको हो । व्यवसायीले स्थानीय सरकारले सहजरुपमा व्यवसाय गर्ने वातावरण नबनाए होटल नै बन्द गरेर आन्दोलनमा उत्रने समेत बताएका छन् ।
अध्यक्ष बस्नेतले जिल्ला प्रशासन कार्यालय दाङको २०८० को पत्र अनुसार व्यवसाय ११ बजेसम्म संचालन गर्न पाउने नियम भएपनि तुलसीपुरमा ९ बजे नै प्रहरीले होटल व्यवसाय बन्द गराउँदै गएको भन्दै आपत्ति प्रकट गरे ।
उहाँले प्रहरीले अनावश्यकरुपमा सिटी बजाएर ध्वनि प्रदुषण गरेको, होटलमा आएका ग्राहकलाई अनावश्यकरुपमा दुव्र्यवहार गरेको, होटल व्यवसायीलाई जघन्य अपराधीजस्तो गरेर हत्कडी लगाएर पक्राउ गरेको गुनासो गरे । यसैविषयमा सोमबार तुलसीपुर उपमहानगरपालिकाले सरोकारवालाको बैठक बोलाएको छ । सोही बैठकबाट नयाँ निर्णय हुने नगर प्रमुख टिकाराम खड्काले बताए ।



लाइभदाङ । १५ भाद्र २०८२, आईतवार २२:४४ बजे