अत्यधिक रक्तश्रावले दाङमा एक सुत्केरी महिलाको मृत्यु

दाङ, २७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमकेकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

अत्याधिक रक्तश्रावका कारण २७ बर्षीय सर्मिला विकको मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य फोकल पर्सन विमल केसीले बताए । उनको शनिबार साँझ ६ः४८ बजेतिर पवननगर स्वास्थ्य चौकीमा सामान्य तरिकाले छोरा जन्मिएको थियो । बच्चा जन्मिसकेपछि साँझ ७ ः४८ मा साल निकालियो । साल निकाले लगतै ति महिलामा रक्तश्राव हुन थालेपछि १५ मिनेटमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको थियो ।

अस्पताल ल्याउँदा धेरै नै रक्तश्राव भइसकेको अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंहले बताए ।“हामीकहाँ आउँदा धेरै रक्तश्राव भइसकेको थियो, रक्तश्राव रोक्नलाई औषधी पनि चढायौं, रगत पनि चढाईयो”,उनले भने“त्यस्तो अबस्थामा आईसियुमा राखेर उपचार गर्नुपर्ने, यहाँ आईसियु नभएपछि घोराही प्रतिष्ठानमा रेफर गरेका थियौ ।” शनिबार बेलुका साढे ८ बजेतिर ति महिलालाई उपचारकालागि प्रतिष्ठानमा रेफर गरिएको हो ।


प्रतिस्ठानमा उपचारकालागि लैजादै गर्दा उनको राति ९ बजेतिर बाटोमै मृत्यु भएको हो । यस्तो समस्या विरलै महिलाहरुमा देखिने डा. सिंहले बताए । महिलाको पाठे घरमा साल टाँसिएको हुने र निकाल्दा खेरि पाठेघरबाट रगत बग्ने समस्या हुने उनको भनाई छ ।

त्यसको उपचार भनेको सल्यक्रिया गरेर पाठेघर निकाल्नु नै रहेको डा. सिंहले बताए । उनको यसअघिको एउटा ३ वर्षको छोरी रहेको छ । अहिले जन्मिएको छोराको अबस्था भने सामान्य छ ।