पहिले बाख्रा गोठालो गर्ने ‘विकास’, अहिले उद्यममा

तुलसीपुर, २२ असोज ।
विकास वली रुकुम पश्चिमको साविक खारा गाविस वडा नं. ८ को सामान्य किसान परिवारमा जन्मिएका हुन् । घरको कान्छो सन्तानका रुपमा जन्मिएका उनको बाल्यकाल गाउँका परम्परागत कामहरूमै बित्यो। उनी सानैमा घाँस–दाउरा गर्ने, बाख्रा गोठालो जाने जस्ता काम गर्दै विद्यालय शिक्षा हासिल गर्दथे। बाल्यकालमा उनको मुख्य लक्ष्य प्रशासक वा शिक्षक बन्ने थियो। तर, समयको प्रवाहसँगै उनको जीवनले अर्कै मोड लियो र उनी आज एक सफल उद्यमीका रूपमा स्थापित भएका छन् ।

उनले कक्षा १ देखि ५ सम्म जन स्थापना प्राथमिक विद्यालय, ६ देखि ८ सम्म जन स्थापना निम्न माध्यमिक विद्यालय र ९ देखि १० कक्षा सम्म त्रिवेणी उच्च माध्यमिक विद्यालयबाट अध्ययन पूरा गरे। माध्यमिक शिक्षापश्चात् उनले दाङस्थित महेन्द्र बहुमुखी क्याम्पस बाट बीएडसम्मको उच्च शिक्षा हासिल गरे।

उनमा समाज सेवा र नेतृत्वको बीउ सानै उमेरमा रोपिएको थियो। १२ वर्षको उमेरमा नवजागरण बाल क्लबमा प्रवेश गरी सचिवका रूपमा काम सुरु गरेका उनी १४ वर्षको उमेरमा अध्यक्ष बनेका थिए। बाल क्लबमा रहँदा बालबालिकाको अधिकार र शिक्षाको वकालत गर्ने उनी विद्यार्थी कालमा पनि विद्यार्थीको हकहितका लागि निरन्तर सक्रिय रहे।


१० वर्षको व्यापारिक अनुभव र‘हिमालय फुड प्रडक्ट’
२०६३ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षा अध्ययनका लागि दाङ झरे । अध्ययनसँगै दाजुभाइ मिलेर घोराहीमा थोक तथा डिलरका रूपमा करिब १० वर्षसम्म व्यापार गरे। व्यापारको लामो अनुभवपछि उनी केवल बिक्रीमा मात्र सीमित नरही उत्पादक बन्ने सोचमा पुगे।

त्यसैको फलस्वरूप उनले ‘हिमालय फुड प्रडक्ट’ नामक उद्योग सञ्चालनमा ल्याए। हाल यस उद्योगमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योगबाट उत्पादित सामग्रीहरू साविक राप्ती अञ्चलका जिल्लाहरू तथा कर्णाली प्रदेशका विभिन्न क्षेत्रहरूमा बिक्री वितरण हुँदै आएका छन्।

व्यावसायिक हकहित र संस्थागत नेतृत्व
उद्योग सञ्चालनसँगै उनले व्यवसायीहरूको हकहितका लागि संगठनात्मक भूमिका पनि निभाउँदै आएका छन्। उनी १ कार्यकाल गल्ला तथा किराना व्यवसायी समितिको सदस्य रहे। त्यसपछि दाङ जिल्ला उद्योग वाणिज्य संघ को कार्यसमिति सदस्य हुँदै १ कार्यकाल सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।