बिनिल केसीले भने‘१२५० मिटरमा भरतपुर र सिमरामा जहाज उड्छ भने टरिगाउँमा किन बस्दैन

तुलसीपुर, २२ असोज ।
टरिगाउँ विमानस्थल स्तरोन्नतिका नाममा वर्षौंदेखि हुँदै आएको राजनीतिक बेवास्ता, झूटा चुनावी आश्वासन र प्राविधिक बहानाबाजीविरुद्ध तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले कडा आक्रोश पोखेका छन् । रास्वपा दाङद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले १२५० मिटरको धावनमार्गमा ७२ सिटे एटीआर जहाज बस्न सक्दैन भनेर बनाइएको भाष्यलाई पूर्ण रूपमा भ्रामक र गलत भएको    बताए ।

अध्यक्ष केसीले अन्य जिल्लाका विमानस्थलको तथ्याङ्क अघि सार्दै प्राविधिक बहाना बनाउनेहरूलाई सिधा प्रश्न गरे‘ भरतपुरको १२५० मिटर, सिमराको ११९२ मिटर र सुर्खेतको १२५५ मिटर धावनमार्गमा अहिले एटीआर-७२ जहाजहरू निरन्तर चलिरहेका छन् भने हाम्रो १२५० मिटरमा जहाज किन बस्दैन ? यो केवल निजी क्षेत्रको मात्र होइन, सम्पूर्ण दाङवासीको साझा र गम्भीर प्रश्न ।

इतिहास कोट्याउँदै केसीले २०११ सालमा स्थापित नेपालकै दोस्रो पुरानो विमानस्थल चुनाव आउँदा नेताहरूको भाषणमा मात्र सीमित हुने र चुनाव सकिएपछि २६ बिघाको कम्पाउन्डभित्रै हराउने नियति भोगेको बताए ।


विगतमा डिपीआरका नाममा बजेट हराउने परिपाटीको आलोचना गर्दै उनले भने–हरेक चुनावमा यसपटक टरिगाउँ अवश्य बन्छ भनिन्छ, तर चुनाव सकिएपछि एयरपोर्ट कतै हराउँछ। विगतमा डिपीआरका नाममा १-१ करोड छुट्याउने र त्यो डिपीआर हराउने निरन्तर अभ्यास भयो। तर अहिले विनियोजन भएको २५ करोड रुपैयाँ ऐतिहासिक बजेट हो। ५ अर्बको डिपीआर कुरेर बस्ने होइन, जे रिसोर्स छ त्यसैबाट ७५० मिटरको धावनमार्गलाई १२५० मिटर पुर्‍याउन तत्काल टेन्डर प्रक्रिया अगाडि बढाइनु पर्ने उनले बताए ।

निजी क्षेत्रको तर्फबाट ठूलो आँट र चुनौती प्रस्तुत गर्दै अध्यक्ष केसीले सञ्चालनको दायित्वसमेत लिन तयार रहेको घोषणा गरे । यदि ठूला जहाज चले ६ महिनासम्मको टिकटको ग्यारेन्टी र जिम्मा लिन तुलसीपुर उद्योग वाणिज्य संघ र निजी क्षेत्र पूर्ण रूपमा तयार रहेको उनले बताए ।