
दाङ,२३ असोज ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश संयोजक तथा पूर्व केन्द्रीय सदस्य गेहेन्द्र गिरीले भीडले मात्रै पार्टी र देश चलाउन नसकिने बताएका छन् । देउवा समूहको तुलसीपुर उपमहानगरपालिका नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता गिरीले कांग्रेस कम्युनिस्ट जस्तो‘क्याडर बेस्ड’ पार्टी नभई बगाल वा जत्था जस्तो भए पनि केवल भीडको भरमा संगठन बलियो नहुने उल्लेख गरे ।
जेष्ठ सदस्य भरतराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले थोरै संख्यामा भए पनि इमानदार र मिहिनेती कार्यकर्ताहरू एकताबद्ध भएमा संगठनलाई मजबुत बनाएर सही गन्तव्यमा र्पुयाउन सकिने दाबी गरे ।
पार्टीभित्र मौलाउँदै गएको विकृतिप्रति टिप्पणी गर्दै नेता गिरीले संस्थापक नेता विपी कोइरालाको विचारको मनन गर्नुपर्ने आवश्यकता औँल्याए । विपीले उतिबेलै पार्टीभित्र सुकिला–मुकिला, मसल्दार, गिट्टी–बालुवा र काठ तस्करहरूको जमात हाबी हुने चेतावनी दिएको स्मरण गराउँदै उनले अब चप्पल लगाएर हिँड्ने साना ‘भुइँमान्छे’ हरूले त्यस्ता सुकिला–मुकिलाका विरुद्ध पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको बताए । उनले आफू संगठनकर्ता भएको र संगठनको वास्तविक मर्म बुझेकाले भीड देखेर नआत्तिई निष्ठाका साथ संगठन निर्माणमा जुट्न कार्यकर्ताहरूलाई आह्वान गरे ।
पार्टीलाई एउटा समूहले गलत बाटोमा लगिरहेको आरोप लगाउँदै उनले महाधिवेशनका क्रममा पदको भागबण्डाका लागि भइरहेको हानाथापको कडा आलोचना गरे । हिजो चार जना पदाधिकारी रहेकोमा भागबण्डा नपुगेर ६ जना र पछि १० जनासम्म र्पुयाइएको तथा विधानमै नभएको ‘बरिष्ठ उपाध्यक्ष’ पद समेत सिर्जना गरिएको प्रसङ्ग उठाउँदै उनले भागबण्डा मिलाउने यस परिपाटीलाई नै ‘धारिएको कांग्रेस’ भनिएको होरु भन्दै प्रश्न गरे ।
देउवा समूहतिर फर्किएलान् भन्ने डरले नै पदहरू सिर्जना गरेर भागबण्डा मिलाइएको उनको दावी थियो । ‘जता रुख त्यतै कांग्रेस’भन्ने भनाइलाई नेता गिरीले गाउँघरका सोझा र सनातन हिन्दु धर्म मान्ने जनतालाई भ्रममा पार्न रचिएको एउटा भावनात्मक षड्यन्त्र र बहकाउने कुरा मात्र भएको बताए । केवल रुख चिह्न भएर मात्रै चुनाव जितिने भए गगन थापा काठमाडौँ छाडेर सर्लाही जाँदा १५ हजारभन्दा बढी मतान्तरले पराजित हुनुपर्ने स्थिति नआउने उदाहरण उनले उनले प्रस्तुत गरे ।
रुख चिह्नकैकै पछि लागेर चुनाव जितिने भए थापाको त्यस्तो हार नहुने तर्क गर्दै उनले यस्ता भावनात्मक कुराको पछि नलाग्न आग्रह गरे ।
विपी पुत्र शशांक कोइराला, महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधि, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र डा।केशव कोइरालाका पुत्र शेखर कोइराला समेत आफूहरुकै समूहमा रहेकाले देउवा नेतृत्वको कांग्रेस नै वास्तविक र आधिकारिक कांग्रेस भएको उनको दाबी थियो ।
विनोद पाण्डेको स्वागत मन्तव्यबाट सुरु भई अजय बुढाथोकीले सञ्चालन गरेको कार्यक्रमलाई नेपाल तरुण दल दाङका निवर्तमान अध्यक्ष टीकाराम घर्ती, नेता युवराज खड्का, अधिवक्ता राजकुमार डाँगी र नेतृ केवलापती चौधरी लगायतले सम्बोधन गरेका थिए । यसैबीच तुलसीपुर नगरको नयाँ नेतृत्व शुक्रबार मात्रै चयन गरिनेछ । त्यसकालागि कार्यतालिका सार्वजनिक समेत गरिएको छ ।



लाइभदाङ । २३ आश्विन २०८३, शुक्रबार ०६:०५ बजे