६ सय गाई–गोरु हेर्ने ‘राजु’

दीपक बोहरा,
तुलसीपुर, २२ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा न. १८ बेलझुण्डी स्थित योगी आदित्यनाथ फाउन्डेशनमा विगत १० वर्षदेखि निरन्तर रूपमा गाईगोरुको हेरचाहमा व्यस्त हुनुहुन्छ, राजु भट्टराई । तुलसीपुर– १८ मणिकापुर निवासी भट्टराई उक्त फाउन्डेशन स्थापना भएदेखि नै निरन्तर रूपमा गाई हेरालुका रूपमा कार्यरत रहँदै आउनुभएको छ । हाल उहाँले फाउन्डेशनमा रहेका करिब ६ सय गाईगोरुको हेरचाह गर्नुहुन्छ ।

गाइगोरुको संख्या ठूलो रहेकाले फाउन्डेशनले सहयोगका लागि केही अन्य सहयोगी कर्मचारीहरू पनि राखिदिएको छ । ती कर्मचारीहरूको उचित परिचालन गर्ने र कामको बाँडफाँड गर्ने जिम्मेवारी पनि भट्टराईकै रहेको छ । गाईगोरुलाई दानापानी खुवाउने कार्यदेखि लिएर दिउँसो चरनका लागि लैजानेसम्मका सबै कामको नेतृत्व भट्टराईले नै गर्नुहुन्छ । लामो समयसम्म गाई हेरचाह गरेकै कारण ६ सय गाईगोरुहरू राजुले जता बोलायो, त्यतै पुग्छन् । “मैले जहाँ बोलायो त्यही गाईगोरु आउछन्”, उहाँले भन्नुभयो“गाइगोरुले मेरा भाषा बुझ्छन् ।”


ठूलो संख्यामा रहेका चौपायाहरूलाई उचित रूपमा व्यवस्थापन गर्न भने निकै समस्या रहेको उहाँको गुनासो छ । विशेषगरी गाईगोरुलाई खुवाउने घाँस र पराल पर्याप्त नहुँदा व्यवस्थापनमा कठिनाइ हुने गरेको छ ।
केही दिनअघि मात्रै विश्वविद्यालयको जग्गा लिजमा लिएका एक व्यक्तिले घाँस उपलब्ध गराइदिएपछि आफूलाई गाईगोरुकालागि घाँस खुवाउन सहज भएको उहाँको भनाई छ । उहाँ अहिले यही पेशामा नै रमाउने गरेको बताउनुभयो । गाईगोरु देख्दा नै आफूलाई खुसी लाग्ने गरेको भट्टराईको भनाई छ ।